काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आगामी कार्यकालका लागि रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
निर्विरोध रूपमा नेतृत्व चयन भएपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई विश्वास गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले संघलाई थप सक्रिय, व्यवसायमैत्री र प्रभावकारी बनाउँदै निजी क्षेत्रको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
अधिकांश पदाधिकारी सर्वसम्मत
मुख्य निर्वाचन अधिकृत अरुण पौड्यालका अनुसार अध्यक्षसहित कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि निम्न पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह,महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य,कोषाध्यक्ष प्रदीपमान प्रधान, सहकोषाध्यक्ष पदमा मात्र प्रतिस्पर्धाअन्य सबै पदमा सर्वसम्मत चयन भए पनि सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको उम्मेदवारी परेको छ। उक्त पदमा सुरेन्द्रभक्त श्रेष्ठ र शिशीर बहादुर गौतम प्रतिस्पर्धामा रहेका छन्।
यद्यपि, सो पदमा समेत निर्वाचन नगरी सहमतिमै टुंग्याउने प्रयास भइरहेको बताइएको छ। एक उम्मेदवारको नाम फिर्ता गराएर सर्वसम्मतिको वातावरण बनाउने पहल जारी रहेकोछ ।
सदस्यहरू पनि निर्विरोध
कार्यसमिति सदस्यतर्फ आवश्यक ११ पदका लागि ११ जनाकै मात्र उम्मेदवारी परेपछि सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, पुपु तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल रहेका छन्।
यसैगरी, संघका वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्यका रूपमा रहनेछन्।
निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। आगामी जेठ ९ गते हुने संघको साधारणसभाबाट नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया दिनुहोस्