Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

गर्मीले बढायो उखु जुस व्यापार, स्थानीय व्यापारी उत्साहित

गर्मीले बढायो उखु जुस व्यापार, स्थानीय व्यापारी उत्साहित
विज्ञापन
Advertisement

महोत्तरी । तराई मधेसमा गर्मी बढ्दै जाँदा उखु जुस व्यापार फस्टाउँदै गएको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण तापमान निरन्तर वृद्धि भइरहेको छ, जसका कारण उखुको जुसको माग पनि बढेको छ। महोत्तरीका बजार क्षेत्रमा अहिले उखु जुस व्यापारीहरू चोकचोकमा देखिन थालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेका छन्। गर्मी बढ्दै जाँदा व्यापार झन् राम्रो भइरहेको उनले बताए। ‘अहिले राम्रो बिक्री छ, कतिपय बेला त ग्राहकको भीड नै लाग्छ,’ बर्दिबासचोक र आसपास घुमन्ते व्यापार गर्दै आएका उनले भने, ‘मध्याह्नपछि जुस खोज्ने ग्राहक बढी हुन्छन्। चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेचिरहेको छु।’

विदेशबाट फर्केर स्वदेशमै उद्यम

४० वर्षीय साबिर १२ वर्ष मलेसिया र कतारमा बिताएर स्वदेश फर्केका हुन्। उनले उखु जुस बेच्न थालेको एक वर्षमात्रै भएको छ। यही व्यापारबाट उनले आफ्नो परिवारको गुजारा चलाउनुका साथै विदेश जाँदा लागेको तीन लाखभन्दा बढी ऋणसमेत तिर्न सफल भएका छन्। “पहिले विदेश गएर धेरै कमाउने सोच थियो, तर त्यहाँ ठगिएँ। ऋणको भारी बोकेर फर्किएपछि स्वदेशमै केही गर्ने निर्णय लिएँ,” उनले सुनाए। “अहिले महिनामा करिब ५० हजार रूपैयाँ आम्दानी हुन्छ। पहिले नै यस्तै काम थालेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ।”

साबिरजस्तै बर्दिबासचोकमा उखु जुस बेचिरहेका धनुषाका पञ्चलाल साहले पनि विदेशको कठिन यात्रा छोडेर यही व्यवसाय रोजेका छन्। ‘दलालको पछि लागेर विदेश गइयो, तर ऋणले थिच्यो। उता भनेजस्तो काम पाइएन,’ उनले भने। ‘अब आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन। यही व्यवसाय गरेर महिनामा ३० हजार रूपैयाँ जोगाउन सकेको छु।’

युवा उद्यमीको नयाँ सोच

बर्दिबास बजार क्षेत्रमा १५–१६ जना व्यापारी अहिले यही व्यवसायमा संलग्न छन्, जसमा धेरैजसो विदेशबाट फर्किएका छन्। सर्लाही ईश्वरपुरका २१ वर्षीय विक्की साह पनि तीमध्ये एक हुन्। ‘विदेश जान राहदानी ठिक्क पारिसकेको थिएँ, तर कसैले ऋण नपत्याएपछि यही व्यवसाय थालेँ,’ उनले भने। ‘अब लाग्छ, कसैले ऋण नपत्याएर ठिकै भएछ, नत्र कहाँ हुन्थे कुन्नि१ अहिले आफ्नै देशमा रमाइरहेको छु, ऋणको भार पनि छैन, आम्दानी पनि ठिकै छ।’

स्वास्थ्यका लागि लाभदायक, व्यापारका लागि लाभदायक
गर्मी बढेसँगै बर्दिबास, गौशाला, रामगोपालपुर, औरही, जलेश्वरलगायतका स्थानमा उखु जुस व्यापार फस्टाएको छ। ठेला र मोटर जडानमा करिब दुई लाख रूपैयाँ लगानी गरेपछि सहजै यो व्यवसाय सुरु गर्न सकिन्छ। व्यापारीहरूका अनुसार प्रतिक्विन्टल उखुको मूल्य करिब १,००० रूपैयाँ पर्छ भने छिल्न १०० रूपैयाँ खर्च लाग्छ। महोत्तरी, सर्लाही र धनुषामा उखुखेती व्यापक हुने भएकाले कच्चा पदार्थ सहजै उपलब्ध हुन्छ।

बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानका अनुसार उखु जुस स्वास्थ्यका लागि पनि निकै लाभदायक छ। ‘अन्य पेय पदार्थभन्दा उखुको रस स्वच्छ र प्राकृतिक हुन्छ, जसले गर्मीयाममा शरीरलाई शीतलता प्रदान गर्छ,’ उनले बताए।

स्थानीय व्यापारमै उज्जवल भविष्य
विदेशको दुःखद अनुभवपछि स्वदेशमै अवसर खोज्ने सोच राखेका यी व्यापारीहरूले अब यही व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छन्। ‘गर्नेलाई यही ठाउँ राम्रो रहेछ,’ साबिरले मुस्कुराउँदै भने, ‘विदेशमा दुःख पाएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो। अहिले सन्तुष्ट छु।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit