images images images images
images images images images
images
images
images

धवलागिरिको काखमा प्रकृति, संस्कृति र साहसिक पर्यटन बोकेको मुदी गाउँ

images

मुदी गाउँ (म्याग्दी) । धवलागिरि गाउँपालिका–४ मुदी गाउँ प्रकृति, संस्कृति र साहसिक पर्यटनको अनुपम संगमका रूपमा परिचित बन्दै गएको छ । विश्वकै सातौँ अग्लो धवलागिरि हिमाल को काखमा अवस्थित यो गाउँ हिमाल, ग्रामीण जीवनशैली, मगर संस्कृति र पदयात्रा पर्यटनका कारण आकर्षक गन्तव्य मानिए पनि अपेक्षित प्रवर्द्धन अभावमा अझै ओझेलमै परेको छ ।

समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको मुदी गाउँबाट गुर्जा र धवलागिरि हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । परम्परागत ढुङ्गे घर, ढुङ्गाले छापिएका गल्ली, कर्नासेमा झुन्ड्याइएका मकैका झुत्ता, मगर समुदायको संस्कृति तथा गाउँले परिवेशले यहाँ पुग्ने पर्यटकलाई मौलिक ग्रामीण जीवनको अनुभूति गराउँछन् ।

images
images

धवलागिरि हिमाल आरोहणका लागि जाने प्रमुख गाउँमध्ये मुदीलाई महत्त्वपूर्ण प्रवेशद्वार मानिन्छ । वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार पछिल्ला वर्षमा गाउँको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँभित्र सरसफाइ, ढल व्यवस्थापन, ढुङ्गा बिछ्याउने कामसँगै हिमाल अवलोकनका लागि भ्यू–पोइन्ट निर्माण गरिएको उनले बताए ।

मुदीबाट करिब ३० मिनेट पैदल यात्रा गरेपछि पुगिने थलडाँडाबाट धवलागिरि, गुर्जा, म्याग्दी र दरखोलासहित आसपासका बस्तीको मनोरम दृश्य देख्न सकिन्छ । गाउँमा मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने पुख्र्यौली, मारुनी, मादले नाच तथा यानीमाया र सालैजो गीतले पाहुनालाई स्वागत गर्ने परम्परा अझै जीवित छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले पहिलोपटक धवलागिरि हिमाल आरोहण गरेको थियो । पर्यटन विभागका अनुसार हालसम्म ७३३ जनाले यो हिमाल आरोहण गरिसकेका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माका अनुसार भौगोलिक कठिनाइ र बदलिरहने मौसमका कारण धवलागिरि आरोहण चुनौतीपूर्ण मानिन्छ ।

यस वर्ष पहिलोपटक मुदी गाउँमै संस्थागत रूपमा धवलागिरि आरोहण दिवस मनाइएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी तथा धवलागिरि गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा छोटिँदै गएको पदमार्ग, जलवायु परिवर्तन र पर्यटनमा परेको प्रभावबारे छलफल गरिएको थियो ।

मुदी र आसपासका क्षेत्रमा रेडपाण्डा, चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु तथा पन्छी पाइने भएकाले पर्यापर्यटनको सम्भावना पनि उच्च रहेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । यहाँका लेकमा यार्सागुम्बा, च्याउ र बहुमूल्य जडीबुटी पाइन्छन् भने घुम्ती गोठ संस्कृतिले थप आकर्षण दिएको छ ।

मुदीदेखि चक्रीय धवलागिरि पदमार्ग, गुर्जा हुँदै डोल्पा तथा ढोरपाटन सिकार आरक्ष जोड्ने मार्गको विकास गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ । तर पछिल्ला वर्षमा हेलिकप्टरमार्फत सिधै आधार शिविर पुग्ने क्रम बढेसँगै गाउँ सुनसान बन्दै गएको स्थानीय व्यवसायीको गुनासो छ ।

धवलागिरि सामुदायिक घरबास सञ्चालन गरेका व्यवसायी गणेश घर्तीका अनुसार पहिले पदयात्रुका कारण गाउँ भरिभराउ हुन्थ्यो । अहिले पर्यटक सिधै हेलिकप्टरबाट आधार शिविर पुग्न थालेपछि होमस्टे व्यवसाय बन्द गरेर बाख्रापालन गर्नुपरेको उनले बताए ।

स्थानीयका अनुसार जलविद्युत् आयोजनाले बनाएका पहुँचमार्ग र छोटिँदै गएको पदयात्राले मुदी, नाउरा र बगर क्षेत्रको पुरानो चहलपहल घटेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले धवलागिरिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सके मुदीजस्ता गाउँको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

मुदीमा सञ्चालन भएका घरबासमा स्थानीय परिकार, कोदो र फापरको ढिँडो, सिस्नो, च्याउ, स्थानीय कुखुरा र खसीबोकाको स्वाद चख्न पाइन्छ । घरबास सञ्चालक गौबहादुर राम्जालीका अनुसार एकैपटक २० देखि ३० जनासम्म पर्यटकलाई बस्ने व्यवस्था गर्न सकिन्छ ।

बेनी बाट सिङ्गा तातोपानी, दरबाङ, धारापानी, ताकम र मुना हुँदै करिब तीन घण्टाको यात्रापछि मुदी गाउँ पुग्न सकिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको यो गाउँमा जिप र मोटरसाइकलमार्फत सहज पहुँच रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS