भोजपुर । रामप्रसादराई गाउँपालिका–८ खोक्सिक मा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक अभावका कारण वर्षौँदेखि अँध्यारोमा बस्न बाध्य परिवारलाई उज्यालोको पहुँचमा ल्याउने उद्देश्यले वडा कार्यालयले कार्यक्रम अघि बढाएको हो ।
वडाले हालसम्म आठ विपन्न दलित परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । उनका अनुसार विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको हो ।
वडाध्यक्ष राईले आर्थिक अभावका कारण अँध्यारोमा बसिरहेका परिवारलाई उज्यालो दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । वडाले यसका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको पठनपाठन, घरेलु कामकाज र सुरक्षामा सकारात्मक प्रभाव परेको वडाध्यक्ष राईले बताए । आगामी दिनमा पनि विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
स्थानीयवासीले पनि वडाको पहलप्रति खुसी व्यक्त गरेका छन् । स्थानीय सुदर्शन गहतराजका अनुसार विद्युत् सेवा उपलब्ध भएपछि साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको छ ।
उनले आर्थिक अभावका कारण घरमा विद्युत् जडान गर्न नसक्दा अँध्यारोमै रात बिताउनुपर्ने अवस्था रहेको बताए । वडाको सहयोगमा घरमा विद्युत् बलेपछि दैनिक कामकाज सहज भएको उनको भनाइ छ ।
अर्का स्थानीय मानबहादुर विश्वकर्माले विद्युत् जडान भएपछि बालबालिकाको पढाइमा सहजता आएको र उज्यालोमा बस्न पाएको बताए । वडाले गरेको पहलले विपन्न बस्तीमा उज्यालो पुगेको उनको भनाइ छ ।
वडा कार्यालयका अनुसार खोक्सिक क्षेत्रमा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेका घरमा पनि विद्युत् जडान गरी उज्यालो वडा घोषणा गर्ने तयारी गरिएको जनाएको छ ।








कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्