काठमाडौं । सरकारले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोग का रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले आज सूचना प्रकाशित गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । चार सदस्य पदमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नियुक्ति प्रक्रिया विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार अघि बढाइएको हो । इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा गरेको हुनुपर्नेछ । आवेदन दिन चाहनेले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गतको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ ।
यसअघि आयोगका अध्यक्षसहित चार सदस्य सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो ।
पदाधिकारी नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौत को संयोजकत्वमा गठित समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिशनारायण जोशी सदस्य रहेका छन् ।

















प्रतिक्रिया दिनुहोस्