पर्वत। समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा रहेको पर्वतको धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । विज्ञान, प्रविधि र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले केन्द्र स्थापना प्रक्रिया अघि बढाएको हो ।
गाउँपालिकाका अनुसार खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा अध्ययन र अनुसन्धान गरेर कालाञ्जरलाई खगोल अध्ययन केन्द्र स्थापनाका लागि उपयुक्त स्थानका रूपमा छनोट गरिएको हो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकाम अवलोकन गर्न सकिने, तारामण्डल, सौर्यमण्डल, ग्रह, उपग्रह र चन्द्रमालगायत आकाशीय पिण्डको प्रत्यक्ष अध्ययन गर्न सकिने भएकाले कालाञ्जर उपयुक्त स्थान रहेको बताए ।
उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि र विज्ञसहितको टोलीले भारतको नैनीतालस्थित खगोल अध्ययन केन्द्रको अवलोकन गरेपछि कालाञ्जरमा यस्तो केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको हो ।
केन्द्र स्थापनाका लागि राष्ट्रिय योजना आयोग, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा प्रस्ताव पेस गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश भए लगत्तै निर्माण प्रक्रिया अघि बढाइने उनले बताए ।
खगोल अध्ययन केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह, नक्षत्र, तारापुञ्ज र आकाशीय घटनाबारे प्रत्यक्ष अध्ययन तथा अवलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण र स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले बताए ।
प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रम पनि सञ्चालन गरिने तयारी छ ।
स्थानीय टीका पुनले केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक र प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा परिचित बन्न सक्ने उनको भनाइ छ ।
सरोकारवाला निकायका अनुसार केन्द्र स्थापनाका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक चरणमा सौर्यमण्डलसम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थी लक्षित विज्ञान प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि करिब एक करोड रुपैयाँ खर्च गरेर भवन निर्माण गरिसकिएको छ भने हेलिप्याड र सडकमार्गसमेत तयार भइसकेको छ ।
स्थानीय शिक्षक नारायण मल्लले खगोल अध्ययन केन्द्र सञ्चालन भएपछि विद्यार्थीले पुस्तकमा मात्र पढ्दै आएका ग्रह, तारा, सूर्य र चन्द्रमालगायत विषय प्रत्यक्ष अवलोकन गर्न पाउने बताए । यसले विज्ञानप्रतिको रुचि बढाउनुका साथै अनुसन्धान र नयाँ आविष्कारतर्फ युवापुस्तालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापनापछि आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्ने, होटल, यातायात, व्यापार तथा रोजगारीका अवसर विस्तार हुने विश्वास लिएको छ । धार्मिक र प्राकृतिक पर्यटनसँगै ‘विज्ञान पर्यटन’ को नयाँ पहिचान स्थापित गर्न गाउँपालिकाले योजनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्