काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट विगतको तुलनामा सानो आकारको रहेको र कुनै महत्त्वाकांक्षी लक्ष्य नराखिएको दाबी गरेका छन्।
बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेट वाञ्छित सीमाभित्रै रहेर ल्याइएको बताए । बजारमा २२ खर्ब रुपैयाँ माथिको बजेट आउने हल्ला रहेको चर्चा गर्दै अर्थमन्त्री वाग्लेले सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको मात्र बजेट ल्याएको जानकारी दिए। ‘बजारको हल्ला विपरित हामीले वास्तविक र सन्तुलित बजेट ल्याएका छौँ,’ उनले भने।
जीडीपीको अनुपातमा बजेट सानो
बजेटको आकारलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गरेर हेर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले यसपटक प्रक्षेपित जीडीपीको २८.५ प्रतिशत हाराहारी मात्र बजेटको आकार रहेको उल्लेख गरे। आगामी आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन ७४ खर्ब ५८ अर्ब रुपैयाँ हुने सरकारको प्रक्षेपण छ। ‘भूकम्पपछिका वर्षहरूमा जीडीपीको ३७ प्रतिशतसम्म पुगेको र सामान्यतया ३० प्रतिशतमाथि आउने गरेको ट्रेन्डलाई यसपटक हामीले भत्काएका छौँ’ अर्थमन्त्रीले भने, ‘राज्यको क्षमता र अनुकूलता हेरेर मात्र बजेट ल्याइएको हो ।’
देशको ऋण अवस्थाबारे अर्थमन्त्री वाग्लेले हालसम्म नेपालको कुल ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको, जुन जीडीपीको करिब ४३ प्रतिशत रहेको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि सरकारले ५ प्रतिशतको सीमाभित्रै रहेर ऋणको लक्ष्य तय गरेको उनले बताए।
सरकारले आगामी वर्षको ऋण परिचालन लक्ष्य आन्तरिक तर्फ ४ खर्ब १० अर्ब रुपैयाँ र बाह्य ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँको लक्ष्य राखेको छ। यो ऋणको ठूलो हिस्सा विगतमा लिइएको पुराना ऋणहरू तिर्नका लागि समेत खर्च हुने उनले बताए ।

















प्रतिक्रिया दिनुहोस्