काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको दाबी गरेको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको उल्लेख गरेको छ ।
कांग्रेसले नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा आम नेपालीको राष्ट्रिय भावनामाथि गम्भीर आघात पु¥याएको जनाएको छ । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपाली भूमिमाथि रहेको अतिक्रमणको विषयलाई कमजोर पार्ने गरी प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु दुःखद भएको जनाएको छ ।
कांग्रेसअनुसार यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबी र कूटनीतिक विश्वसनीयतालाई कमजोर बनाउने जोखिम रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीले दुई देशबीचको सीमा समस्या समाधानका स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै यस्तो टिप्पणी गर्नुले नेपालको कूटनीतिक परिपक्वतामाथि नै प्रश्न उठाएको उल्लेख गरिएको छ ।
कांग्रेसले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा सरकारको आधिकारिक दृष्टिकोण हो वा व्यक्तिगत अभिव्यक्ति हो भन्ने विषयमा स्पष्ट पार्न माग समेत गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्