Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुक्तिनाथ प्रवेशद्वार गलेश्वरलाई आकर्षक बनाउने अभियानअन्तर्गत स्लेट ढुङ्गा बिछ्याइयो

मुक्तिनाथ प्रवेशद्वार गलेश्वरलाई आकर्षक बनाउने अभियानअन्तर्गत स्लेट ढुङ्गा बिछ्याइयो
विज्ञापन
Advertisement

म्याग्दी । मुस्ताङको मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरण अभियानअन्तर्गत बजारभित्रको सडक स्तरोन्नति गरिएको छ। पर्यटक र भक्तजनलाई आकर्षित गर्दै उनीहरूको बसाइँ लम्ब्याउने उद्देश्यले सडकमा स्लेट ढुङ्गा बिछ्याएर बजारलाई थप आकर्षक र व्यवस्थित बनाइएको हो।

विज्ञापन
Advertisement
Advertisement

बेनी नगरपालिका–९ मा सञ्चालित गलेश्वर बजार सौन्दर्यकरण योजनाअन्तर्गत यस वर्ष मन्दिर प्रवेशद्वारदेखि बसपार्कतर्फ २९५ मिटर सडकमा स्लेट ढुङ्गा बिछ्याइएको छ। बेनी नगरपालिकाका अनुसार सडकलाई सम्याएर नाली, पर्खाल र आवश्यक संरचना निर्माणपछि कालोपत्रको विकल्पका रूपमा कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले मजबुत बनाइएको हो।

रु ४८ लाख ७४ हजार २७७ लागतमा निर्माण सम्झौता गरेको रिभर इडेग इञ्जिनियरिङ एण्ड बिल्डर्सले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेको वडाध्यक्ष चक्र केसीले बताए। उनका अनुसार गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो, जसमा गलेश्वर शिवालय क्षेत्र विकास कोष र नगरपालिकाको लागत साझेदारी रहेको छ।

गत वर्ष पनि प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर क्षेत्रमा ढुङ्गा बिछ्याउने, पर्खाल निर्माण गर्ने तथा पलम नाली बनाउने काम सम्पन्न गरिएको थियो। यससँगै बजार क्षेत्रलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउने काम चरणबद्ध रूपमा अघि बढाइएको छ।

वडाध्यक्ष केसीका अनुसार मुक्तिनाथ र मुस्ताङ जाने–आउने पर्यटक तथा तीर्थयात्रीलाई गलेश्वरमा रोकिने वातावरण बनाउन सौन्दर्यकरण योजना सुरु गरिएको हो। सडकमा ढुङ्गा बिछ्याएपछि बजारभित्र सार्वजनिक यातायात सञ्चालन रोकिएको छ भने सवारीसाधनलाई कालिगण्डकी करिडोरमार्फत आवतजावत गराउने व्यवस्था मिलाइएको छ।

सवइञ्जिनियर मिलन केसीका अनुसार बजारभित्र आवश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्दा पनि ढुङ्गामा क्षति नपुग्ने गरी संरचनाको डिजाइन गरिएको छ।

कालीगण्डकी नदी किनारमा रहेको विशाल प्राकृतिक चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार यहाँ दर्शन र पूजा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

धार्मिक ग्रन्थअनुसार सतीदेवीको गला पतन भएको स्थानका रूपमा चिनिने गलेश्वरमा साउन महिनाका सोमबार, बाला चतुर्दशी र शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ। पूर्वाधार सुधारसँगै गलेश्वरलाई धार्मिक पर्यटनको थप आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit