Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मागेजति बजेट पाएका छौं, अब परिणाम देखाउने पालो प्राधिकरणको : ऊर्जामन्त्री

मागेजति बजेट पाएका छौं, अब परिणाम देखाउने पालो प्राधिकरणको : ऊर्जामन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणमा आयोजित एक विशेष छलफलमा मन्त्री श्रेष्ठले कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल काममा जुट्न सुझाव दिएका हुन् ।

बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समयसीमा भित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कार्यान्वयनका क्रममा देखिने नीतिगत र प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए । तर यसको नेतृत्वदायी भूमिका प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने उनको भनाइ छ । ‘यसपटक प्राधिकरणले माग गरे अनुसारको बजेट प्राप्त गरेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’ उनले भने ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले अब गुणस्तरीय, दिगो विद्युत आपूर्ति र सेवा प्रवाहमा सुधार गर्ने मुख्य जिम्मेवारी प्राधिकरणकै काँधमा आएको बताए । तर, आफ्नो ध्यान प्राधिकरणलाई कसरी अघि बढाउने भन्नेमा केन्द्रित रहेको उनको भनाइ छ। ‘विगतमा के भयो वा किन भएन भन्ने बहसभन्दा अब कसरी अघि बढ्ने भन्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ मन्त्री श्रेष्ठले भने ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत महसुल बक्यौता असुलीको विषयलाई प्राधिकरणले नियमित कार्यसूचीको रूपमा अघि बढाउन सुझाव दिए । संस्थागत सुशासन सुदृढ गर्ने, कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी अगाडि बढ्ने विषयमा उपकार्यकारी निर्देशकहरूलाई ढुक्क भएर सुझाव र प्रस्ताव पेश गर्न पनि उनले आग्रह गरे।

छलफलमा उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गतका आयोजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्य योजनाबारे जानकारी गराएका थिए । उनीहरूले बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउन असार १५ गतेभित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको मन्त्रीलाई जानकारी गराए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit