काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन व्यक्तिहरूलाई २५ थान सेतो छडी प्रदान गरेको छ ।
बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका दृष्टिविहीनहरूलाई उक्त छडी प्रदान गरेको हो ।
दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित र सम्मानजनक आवागमनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजित एक कार्यक्रमका बीच आज बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशिल पौडेलले सेतो छडी वितरण गरे । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसाल र सर्वोदय परियोजनाका सौगात वाग्लेको समेत उपस्थिति रहेको थियो ।
छडी वितरण गर्दै प्रमुख पौडेलले यो सहयोगले दृष्टिविहीन व्यक्तिहरूको आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, सर्वोदय परियोजनाका वाग्लेले सेतो छडीले सामाजिक समावेशीकरण र स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताए ।

















प्रतिक्रिया दिनुहोस्