काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि युनिलिभर नेपाल लिमिटेडले सरकारलाई ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी र सञ्चालक रवीन्द्रभक्त श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
नगद सहयोगसँगै कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि करिब २६ टन स्वास्थ्य तथा सरसफाइसम्बन्धी अत्यावश्यक सामग्रीसमेत उपलब्ध गराएको छ। कम्पनीका अनुसार उक्त सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ बराबर रहेको छ। बाढीपछि प्रभावित क्षेत्रमा प्रदूषण तथा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा उपयोगी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ। लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका युनिलिभरका उत्पादनहरू राहत सामग्रीमा समेटिएका छन्।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन परिस्थितिमा सबै पक्ष एकजुट भएर बढी प्रभावित समुदायको साथमा उभिनुपर्ने बताएका छन्। उनका अनुसार राहत तथा उद्धारसँगै प्रभावित परिवारलाई पुनःस्थापनाको चरणमा सहयोग पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, सरसफाइ र सामाजिक कल्याणमा केन्द्रित सहयोगलाई निरन्तरता दिने जनाएको छ।
युनिलिभर नेपालले पछिल्लो सहयोगमार्फत बाढी प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै उनीहरूको सुरक्षित र स्वस्थ जीवनयापन पुनःस्थापित गर्ने प्रयासमा योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्