काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारमा बसेर गुनासो गर्नुको सट्टा काममा केन्द्रित हुन सुझाव दिएका छन्। उनले खर्च हुन नसक्ने अबण्डा बजेट विनियोजनप्रति पनि प्रश्न उठाउँदै बजेट दुरुपयोग हुन नदिन सरकारलाई सचेत गराएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले मन्त्री पुनले मन्त्रालयका समस्या र कानुन अभावबारे लामो जवाफ दिएर समय खेर फालेको टिप्पणी गरे । सरकारमा रहेका मन्त्रीले विपक्षीजस्तो गुनासो गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।
‘सरकारले गुनासो गर्ने होइन। मन्त्री सत्ता पक्षमा हुनुहुन्छ कि विपक्षमा भन्ने थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो भएन भनेर लामो कुरा गर्नुभन्दा काम गर्नुपर्छ,’ उनले भने।
साम्पाङले कार्यक्रम नै नभएको अवस्थामा दुई अर्ब ५१ करोड रुपैयाँ अबण्डा बजेट छुट्याइएको विषयमा पनि प्रश्न उठाए। खर्च हुनै नसक्ने रकम किन विनियोजन गरिएको भन्दै उनले बजेटको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
यसअघि मन्त्री पुनले मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुन अझै नबनेको र करिब साढे तीन अर्ब रुपैयाँ अबण्डा बजेट रहेकाले उक्त रकम खर्च गर्न कठिन हुने बताएका थिए।















प्रतिक्रिया दिनुहोस्