काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजनाको ठेक्का आह्वान गर्ने लक्ष्य राखेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले बहुवर्षीय बजेट प्रणाली लागू गरेर ठेक्का प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने उद्देश्यले यस्तो लक्ष्य तय गरिएको बताएका हुन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले चालु आर्थिक वर्षका लागि मन्त्रालयको बजेट दुई खर्ब ८६ अर्ब रुपैयाँ भए पनि करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने तयारी रहेको जानकारी दिए।
उनका अनुसार सरकारले एकवर्षीय बजेट प्रणालीभन्दा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको छ। समान प्रकृतिका सडक, पुललगायतका आयोजनालाई एकीकृत रूपमा अघि बढाउँदा ठेक्का प्रक्रियामा लाग्ने समय उल्लेख्य रूपमा घट्ने उनले बताए।
मन्त्री लम्सालले सामान्य अवस्थामा एउटा ठेक्का आह्वान गर्न छदेखि सात महिना लाग्ने भए पनि एउटै प्रकृतिका आयोजना एकैपटक ठेक्का प्रक्रियामा लैजाँदा तीन वर्षसम्म लाग्न सक्ने समयलाई छदेखि सात महिनामै सीमित गर्न सकिने बताए। यसबाट निर्माण कार्यका लागि थप १२ देखि १४ महिना समय बचत हुने उनको भनाइ छ।
उनले बहुवर्षीय ढाँचामा धेरै आयोजना समेटिएकाले बजेट थोरै–थोरै रकम धेरै आयोजनामा बाँडिएको जस्तो देखिए पनि त्यसको उद्देश्य कार्यान्वयनलाई प्रभावकारी बनाउनु रहेको स्पष्ट पारे।















प्रतिक्रिया दिनुहोस्