काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आगामी आर्थिक वर्षको बजेटले कुनै पनि क्षेत्रलाई उत्साहित बनाउन नसकेको आलोचना गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट सार्वजनिक भएलगत्तै शेयर बजारमा देखिएको तीव्र गिरावटले अर्थतन्त्रमा नकारात्मक संकेत दिएको बताइन्। उनका अनुसार बजेटले अपेक्षित सकारात्मक प्रभाव दिन नसक्दा बजारमा विश्वास घटेको र आर्थिक अनिश्चितता बढेको देखिएको छ।
ओलीले भनिन्, ‘बजेट वक्तव्य सार्वजनिक हुना साथ शेयर बजारमा तीव्र गिरावट देखियो, जुन आजका दिनसम्म कायम नै छ। बजार थप घट्दैछ। सामान्यतया बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्थ्यो, तर यसपटक त्यस्तो देखिएन।’
उनले बजेटको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिए पनि लगानीकर्ताहरू निराश बनेको उल्लेख गरिन्। उद्योग क्षेत्रदेखि निजी क्षेत्रसम्मका लगानीकर्तामा आत्मविश्वासको ठूलो कमी रहेको टिप्पणी गरिन्। ओलीले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको प्रभावकारितामाथि प्रश्न उठाउँदै भनिन्, ‘यस्तो अवस्थामा मेरो सरकारसँग, विशेषगरी अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूसँग प्रश्न छ, आखिर यो बजेटबाट उत्साहित भएको चाहिँ को हो?’
यस्तै ओलीले राज्जका संस्थाहरुमाथि कब्जा गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना गरिन् । राज्यका स्थायी संयन्त्रलाई बलियो पार्नुपर्नेमा सरकार अनौपचारिक शक्ति केन्द्रलाई सबल बनाउन लागेको उनको आरोप छ।















प्रतिक्रिया दिनुहोस्