रौतहट । गृहमन्त्रीले मध्यतराईका बारा र पर्सा जिल्लाको स्थलगत अनुगमन गर्दै तस्करी नियन्त्रण र शान्तिसुरक्षामा कडाइ गर्न निर्देशन दिएपछि रौतहटमा सुरक्षा व्यवस्था थप सुदृढ भएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण तथा जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी युनिटहरूलाई थप सक्रिय बनाइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अन्य सुरक्षा निकायसँग समन्वय बढाइएको छ। संवेदनशील र अति संवेदनशील क्षेत्रको पहिचान गरी करिब प्रत्येक पाँच किलोमिटरको दूरीमा प्रहरीको निगरानी व्यवस्था मिलाइएको उनले बताए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय गौरको कमाण्डमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा चपुर र गरुडास्थित प्रहरी कार्यालयमार्फत १० वटा इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी पोस्टमा कार्यरत करिब ९०० प्रहरीलाई थप सक्रिय बनाइएपछि जिल्लाको सुरक्षा व्यवस्था अझ प्रभावकारी बनेको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बारा, पर्सा र सर्लाहीका सुरक्षा निकायसँगको समन्वयपछि रौतहटमा शान्तिसुरक्षामा उल्लेखनीय सुधार आएको छ। अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कारबाही तीव्र बनाएपछि तस्करी गतिविधि घटेको, राजस्व संकलनमा वृद्धि भएको र सुरक्षा सम्बन्धी गुनासोसमेत कम भएको उनले बताए।
जिल्लाका सरमुजवा (बंकुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टी, गौर भन्सार र बेलबिचवालगायत १० वटा इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी पोस्टमार्फत जिल्लाभर सुरक्षा सेवा प्रदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, रौतहटसँग सीमा जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले पछिल्लो आठ महिनामा करिब एक करोड १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी पथलैया भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार शनिबार मात्रै करिब ३० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। कचौरवा, अडुवा खोला, पचरौता, पिपरपाटी, घाटतोलालगायत सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि प्रहरी टोलीलाई थप सक्रिय बनाइएको उनले बताए।















प्रतिक्रिया दिनुहोस्