काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तिको १० दिनपछि अध्यक्ष भट्टले आज जिम्मेवारी सम्हालेका हुन् ।
शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न अध्यक्ष भट्टलाई अर्थमन्त्रीले निर्देशन दिएको जनाइएको छ ।
लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्नेमा अर्थमन्त्रीले जोड दिएका छन् । ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’
अर्थमन्त्रीले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिएका छन् । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टको ध्यानाकर्षण गराएका छन् ।
उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई काम गरेर देखाउन भनेका छन् । ‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’
नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो ज्ञान, अनुभव र सिप लगानीकर्ताको हित तथा आर्थिक वृद्धिका लक्ष्य पूरा गर्न प्रयोग गर्ने बताउँदै, पुँजी बजार सुधारसम्बन्धी अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजार विकासलाई अघि बढाउने बताएका छन्।














प्रतिक्रिया दिनुहोस्