लुम्बिनी। लुम्बिनी प्रदेशमा यस वर्ष असार १५ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको २०.८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो करिब चार प्रतिशतले कम हो।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफल छ । सोमध्ये हालसम्म ६२ हजार ६७०.८७ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए।
जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि रुपन्देहीमा ४३ प्रतिशत, गुल्मीमा २५.७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा २४.५ प्रतिशत तथा बर्दियामा १९.३१ प्रतिशत रोपाइँ भएको छ।
दाङमा ३६ हजार २०० हेक्टरमध्ये पाँच हजार ४३० हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। कपिलवस्तुमा १५.८ प्रतिशत, अर्घाखाँचीमा ११.२७ प्रतिशत, प्यूठानमा आठ प्रतिशत र रोल्पामा ४.८ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्कमा उल्लेख छ।
प्रदेशको प्रमुख धान उत्पादन क्षेत्र बर्दियामा ५० हजार १५० हेक्टरमध्ये नौ हजार ६८५ हेक्टर (१९.३१ प्रतिशत) क्षेत्रमा रोपाइँ सकिएको छ। सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ। त्यहाँ ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८.९ हेक्टर अर्थात् ०.०५ प्रतिशत क्षेत्रमा मात्र धान रोपिएको छ।
निर्देशनालयका अनुसार मनसुन सक्रिय बन्दै गएसँगै प्रदेशभर धान रोपाइँको गति तीव्र बन्दै गएको छ।















प्रतिक्रिया दिनुहोस्