बाँके। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माण कार्यलाई तीव्रता दिएर निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
आयोजनाको निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै निर्माण कार्यमा ढिलाइ हुन नदिन सबै पक्षले समन्वय गर्नुपर्नेमा जोड दिए। उनले ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा रहेका जटिलता समाधानका लागि आवश्यक पहल गरिने र बहुवर्षीय ठेक्का प्रक्रिया थप सरल तथा प्रभावकारी बनाइने बताएको मन्त्रीको निजी सचिवालयले जनाको छ।
मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सिँचाइ पूर्वाधारसँगै कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ–मलको उपलब्धता तथा मूल्य शृङ्खला विकासमा पनि सरकारले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सिक्टा सिँचाइ आयोजना बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने विश्वास व्यक्त गरे। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले स्थानीय किसानसँग रोपाइँको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे पनि जानकारी लिएका थिए ।
नेपाल सरकारकै लगानीमा आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिएको थियो। बाँकेको राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको आयोजनाले बाँकेका सात स्थानीय तहका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

आयोजनाको कुल अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। हालसम्म २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भइसकेको छ। पश्चिमी मूल नहरतर्फ ४५.२५ किलोमिटर र पूर्वी मूल नहरतर्फ ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटर निर्माण सम्पन्न भएको छ। साथै ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर, करिब ३० किलोमिटर तटबन्ध, १८७ हेक्टर जमिन अधिग्रहण तथा विभिन्न लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ।















प्रतिक्रिया दिनुहोस्