काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग भेट गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष भट्टसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरि पुँजी बजारको विकास र सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।
भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारको बजेट तथा नीति–कार्यक्रमअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने उल्लेख गरेको एसोसिएसनका अध्यक्ष ढकालले जानकारी दिए ।
भट्टले पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाइने बताउँदै बजारको पारदर्शिता, सुशासन, लगानीकर्ता हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिने धारणा राखेका छन् ।
एसोसिएसनका अध्यक्ष ढकालले नवनियुक्त अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव, सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटका क्रममा सरकारको बजेटमा समेटिएका पुँजी बजार विकाससम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा पनि छलफल भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले अध्यक्ष भट्टको नेतृत्वमा सेबोनले पुँजी बजारको विकासमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्