काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरलाई पाँच बुँदे नीतिगत सुझाव पेस गरेको छ।
संघले नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै मौद्रिक नीतिमार्फत विभिन्न सहजीकरणात्मक व्यवस्था गर्न आग्रह गरेको हो। संघका अनुसार बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्न थप नीतिगत स्वतन्त्रता दिनुपर्ने, पर्याप्त पूँजी र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई शेयर बजारमा विवेकपूर्ण लगानी गर्न प्रोत्साहन गर्नुपर्ने व्यवस्था आवश्यक छ।
त्यसैगरी, लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न, शेयर धितो कर्जालाई जोखिममा आधारित प्रणालीमा रूपान्तरण गर्न तथा गैरआवासीय नेपाली (एनआरएन) लाई पूँजीबजारमा सहज प्रवेश र लगानी फिर्ताको वातावरण सुनिश्चित गर्नुपर्ने सुझाव पनि संघले अघि सारेको छ।
संघले कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीजस्ता दीर्घकालीन संस्थागत कोषलाई स्पष्ट जोखिम मापदण्डका आधारमा पूँजीबजारमा अझ सक्रिय रूपमा परिचालन गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ। यस्ता नीतिगत सुधारले बजारमा दीर्घकालीन स्थायित्व, तरलता वृद्धि तथा लगानीकर्ताको विश्वास मजबुत हुने र समग्र वित्तीय प्रणालीको स्थायित्वमा सकारात्मक प्रभाव पार्ने संघको विस्वास छ।
नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको तयारी तीव्र पारेको सन्दर्भमा यस्ता छन् संघका पाँच प्रमुख सुझावहरू :
बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत लचकता प्रदान गर्ने ।
लघुवित्त संस्थाको लाभांश वितरणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने ।
शेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित प्रणालीमा रूपान्तरण गर्ने ।
गैरआवासीय नेपालीका लागि लगानी प्रवेश तथा फिर्ता प्रक्रिया सहज बनाउने।
संस्थागत दीर्घकालीन कोषहरूको पूँजीबजारमा सक्रिय परिचालनका लागि नीतिगत सहजीकरण गर्ने, आदी ।















प्रतिक्रिया दिनुहोस्