काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।
उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् । वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए ।
मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए । साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए । दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याएको र आफूलाई पकाइदिन भनेको सुनाए ।
उनले भने, ‘दाइ उठ्नुस् न बनाउनू भनेर उसले भनेको थियो । मैंले भयो छाड भनेँ । त्यसपछि उसले त्यही भात खाएर सुत्यो।’ घटनाको दिन बिहान आफूले गणेशलाई बाइकको किस्ता तिर्नुपर्ने भएकाले पठाओ(बाइक राइड) चलाउन जान भनेको मदनले बताए । त्यसपछि गणेश बाइक लिएर बाहिर निस्किएको उनले सुनाए ।
उनले भने ‘मैले बिहान भनेँ–गणेश उज्यालो भयो, पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो । पठाओ गर्न जाऊ भनेर भनेँ,’ मदनले भने, ‘ऊ उठेर बाइक निकाल्यो । छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो।’ गणेश बिहान निस्किएपछि दिउँसोसम्म पनि घर नफर्किएपछि आफूले पर्खिरहेको उनले बताए । दिउँसो साढे २ बजेतिर प्रहरीको फोन आएपछि मात्र घटनाबारे जानकारी पाएको उनले बताए ।
‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’ अस्पतालमा भेट्दा गणेशको बोली कमजोर अवस्थामा रहेको र उनले केही शब्द बोलेको उनले बताए ।
‘दाइ, बाबा–मम्मीलाई राम्रो गर्नुस् भनेको भन्यै ग¥यो,’ उनले भावुक हुँदै भने, ‘त्यसपछि उसले दाइ मेरो गल्ती थिएन है भनेर दुई पटक भन्यो।’ मदनका अनुसार गणेशले आफूले गल्ती नगरेको भन्दै ह्वील लक र ट्राफिक कारबाहीको कुरा गरेका थिए । ‘मैंले कसको के भएको हो भनेर सोधेँ । उसले मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लगाउँदा–लगाउँदै ट्राफिक आएर त्यस्तो भयो भन्यो,’ मदनले भने ।
त्यसपछि गणेशको बोली बन्द भएको र थप कुरा गर्न नसकेको उनले बताए । गणेशको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
गणेशका दाईले बताएको घटना विवरण :
‘हामी धेरै तल्लो वर्गको मान्छे भएर पनि होला, खसीको मासु खान हामीलाई अलि मन लाग्थ्यो तर, गाह्रो हुन्छ यहाँ। अब माथि (जिल्लामा) सस्तो पाएको मान्छे, यहाँ चौध–पन्ध्र सय पर्छ किन्न गाह्रो हुन्छ। त्यही भनेर भाईले खुट्टा चाहिँ ल्याएको रहेछ। बुधबार राती मैले खाना खाएर सुतिसकेको थिएँ। दाई उठ्नु न बनाउनु न भन्यो, ऊ आफ्नो भाउजूसँग त्यति बोल्दैन। आफ्नो बुढीलाई पनि म भन्न सकेन । मलाई भनेको थियो, अब भयो छोड् भने मैले अनि त्यही भात खाएर सुत्यो ।
बिहानै उज्यालो भयो मैले जान त पठाओ चलाउन बाइकको किस्ता बुझाउने दिन आइसक्यो भने । ऊ जुरुक्क उठेर बाइक पनि छिमेकीलाई डिस्टर्ब हुन्छ भनेर स्टार्ट नगरिकन बाहिरपट्टि हाम्रो चोकमा ल्याएर स्टार्ट गरेर आएको थियो।
आउँदैन, एघार बजिसक्यो आउँदैन, अनि मैले सोचेँ अब पठाओ गर्ने मान्छे, अब भनेकै समयमा त हुँदैन, आउला आउला भन्ने भयो। एघार बजिसकेको थियो, म पनि दिउँसो सुते । म सुतेको छु, अनि साढे दुई बजे अनि पुलिसको नम्बरबाट मलाई फोन आयो– तपाईंको मान्छे पेट्रोल छर्केर यहाँ .. भएको रहेछ, वीरमा आउनु भन्यो। म तीन बजे करेक्ट यहाँ अस्पतालमा आइपुगेँ। उसको बोली अलिअलि फुटिरहेको थियो म आउँदाखेरि। दुई–चार वटा शब्द चाहिँ उसले बोल्यो। दाई, बाबा ममीलाई……उनी भक्कानिए ।
त्यति भनिसकेपछि उसले दाई मेरो गल्ती थिएन है, दाई मेरो गल्ती थिएन है दुई चोटी त्यो भन्यो। अनि कस्को के भएको हो भने मैले । बाबा ममीलाई राम्रो सम्हाल्नु अनि त्यसपछि उनीहरुले गल्ती थिएन ट्राफिकले ह्विल लक लगायो भन्यो। त्यत्तिकैमा उसको बोली बन्द भइसकेको थियो। ट्राफिक भन्यो, अब अनि त्यसपछि ह्विल लक लगायो भन्यो, त्यत्तिकैमा उसको बोली बन्द भइहाल्यो।
मैले वीरमा अहिलेसम्म सुनेको थिइन यहाँ उपचार हुन्छ भनेर । मत ७२ सालदेखि म यहाँ बस्दै आएको हो। हाम्रो मुगुतिरको बिरामीहरू पनि यहीँ आउँछन् त्यसैले यहाँ बर्नको उपचार छैन भन्ने मलाई लागेको थियो । मलाई कीर्तिपुर लैजान पाए श्वास बचाउन पाए भन्ने भयो । डाक्टर साबले भन्नुभयो, होइन, यहाँ उपचार छ, ठीक छ त अहिले बरु पछि लैजाउँला अहिले यस्तो अवस्था छ, श्वास फेर्न गाह्रो हुन्छ भन्नुभयो । उसलाई आइसियुमा राखेपछि, बेलुकासम्म, १० बजेसम्म, त्यस्तै कोही मिडियाहरू, आफन्तहरू आउने जाने क्रम जारी रह्यो। पछि १० बजेपछि होला , गृहमन्त्रीज्यू लगायत प्रधानमन्त्रीको सचिवालयको सबै टिम नै आउनुभयो र रातभरि नै लगभग खटिनुभयो। अनि बाहिर लैजाने उपचारको लागि भन्ने भयो । त्यसपछि बिहानैसम्म बस्नुभयो। अनि पछि डाक्टर साबलाई मैले सोधे –सर भाईलाई बाहिर लाने भन्दै हुनुहुन्थ्यो, के भएर नलैजाने ?डाक्टर साबले हेल्थको कारणले गर्दा यहाँबाट त्यहाँ जाँदै गर्दा केही बाटोमा समस्या आइहाल्यो भने अवस्था गम्भीर छ भन्नुभयो । उसलाई राम्रो होला यहीँ भन्ने मेरो मनमा त्यत्ति लाग्यो ।
बाइकको कतिवटा किस्ता तिर्न बाँकी थियो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘ भाइको दुईवटा किस्ता चाहिँ हालिसकेको छ। एउटा किस्ता भोलि (२७ ) गते तिर्नुपर्ने थियो।’















प्रतिक्रिया दिनुहोस्