काठमाडौं । मंगलबार साँझ काठमाडौंको धरहरा अगाडि प्रहरीको भ्यान र निजी सवारीसाधन ठोक्किएपछि विवाद उत्पन्न भएको छ। घटनापछि आक्रोशित प्रहरी जवानले भिडियो खिचिरहेका सर्वसाधारण र सञ्चारकर्मीमाथि दुर्व्यवहार गरी मोबाइल खोसेका थिए ।
साँझ करिब पौने ८ बजे बीएई ७८९९ नम्बरको निजी कार र थुनुवा बोकेको प्रहरी भ्यान आपसमा ठोक्किएका थिए। त्यसपछि प्रहरी भ्यानमा रहेका प्रहरी जवान (चालक) बीच सडकमै भ्यान रोकेर निजी कार धनी निरज भण्डारीसँग विवादमा उत्रिएका थिए।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक के. दर्नाल नेतृत्वको टोली उपस्थित थियो । कार चालक भण्डारीले आफू कानुनी प्रक्रिया अनुसार ट्राफिक प्रहरी कार्यालयमा जान तयार रहेको बताए पनि भ्यान चालकका रूपमा रहेका एक प्रहरी जवान आक्रोशित बनेर हातपात गर्न खोज्दा समेत प्रहरी सहायक निरीक्षकले हस्तक्षेप नगरेको कार चालक भण्डारीको आरोप छ।
घटनाको भिडियो खिच्न खोजेका एक सर्वसाधारणको हातबाट मोबाइल खोसेर लगेपछि मात्र घटनाको भिडियो खिच्न थालेका कर्पोरेट समाचारका सञ्चारकर्मीको मोबाइलसमेत खोसिएको छ । सञ्चारकर्मीलाई धकेलेर ती प्रहरी जवान (जो सादा पोशाकमा थिए) ले फुटपाथमा लडाइदिएका थिए ।
त्यसअघि भिडिओ नबनाउनू भन्दै थर्काउँदै आएका एक प्रहरी हवल्दारलाई आफू सञ्चारकर्मी भएको परिचय दिएपछि पनि तुरुन्तै सादा पोशाकमा रहेका व्यक्तिले पछाडिबाट आएर धक्का दिई मोबाइल नियन्त्रणमा लिएका थिए । मोवाइल खोसिएपछि ती व्यक्तिलाई पटक- पटक मोवाइल फिर्ता गर्न आग्रह गर्दासमेत उनले अटेर गरी भिडियो डिलिट गर भनेका थिए । सञ्चारकर्मीमाथि हातपात गरी मोवाइल खोसेर भिडियो डिलिट गर्न आदेश दिने तपाईं को ? भन्ने हाम्रो प्रश्नमा उनले आफू सादा पोशाकमा प्रहरी भएको बताए ।

सञ्चारकर्मीले परिचयपत्र देखाउन आग्रह गर्दा ती व्यक्तिले ‘सञ्चारकर्मी भए भिडियो खिच्न क्यामरा बोकेर आउनूस्’ भन्ने जवाफ दिए । आफ्नो मोबाइल फिर्ता गर्न आग्रह गरे पनि करिब चार मिनेटसम्म उनले मोबाइल फिर्ता गरेनन्।
घटना भएको करिब १५ मिनेटपछि मात्रै ट्राफिक प्रहरी घटनास्थलमा पुगेका थिए। त्यसअघि कार चालक भण्डारीले कानुनी प्रक्रियामा जान पटक–पटक आग्रह गरेका थिए। ‘मेरो गाडीले अलिकति उहाँलाई छोयो । छुँदाखेरी जो भ्यानको ड्राइभर हुनुहुन्छ तँ बर्ता भएको हो? भनेर उहाँले मेरो मोवाइल पनि खोस्नुभयो,’ कार चालक भण्डारीले घटना विवरण सुनाउँदै भने,‘ तपाईंको गाडीमा केही भएको भए म बनाइदिन्छु भन्दाभन्दै उहाँले ममाथि हातपात गर्न खोज्नुभयो।’
यस विषयमा फिल्डमा रहेकी प्रहरी सहायक निरीक्षक के.दर्नाललाई तपाईंको अगाडी कार चालक र ममाथि हातपातको प्रयास भयो, तीन जनाको मोवाइल खोसिँदासम्म जवानलाई किन रोक्नुभएन ? भन्ने हाम्रो प्रश्नको जवाफ उनले दिइनन् । आफू कानूनी प्रकृयामा जान तयार रहँदा समेत प्रहरी जवानले आफूमाथि गरेको व्यवहारप्रति चालक भण्डारीले ‘ड्राइभर भन्दा तपाईं सिनिएर अफिर हो, यो घटनाको लिड गर्नुपर्ने होइन?’ भन्ने भण्डारीकै गुनासोपछि दर्नालले भनिन्,‘मैले सालिनतापूर्वक के भयो सर हजुर भन्नुहोस् भन्दा तपाईं नै जाइलाग्नु भयो। गरौँ के मैले?’















प्रतिक्रिया दिनुहोस्