काठमाडौं। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले आजै (साउन १ गते) देखि उक्त सेवा सुरु गरिएको जानकारी दिएको हो।
अब नेपाल टेलिकमको भौतिक वा ई–सिम हराएमा अथवा बिग्रिएमा सेवाग्राहीले ई–सिम डट एनटीसी डट नेट डट एनपी मा लगइन गरी ‘हराएकोरबिग्रेको सिमका लागि आवेदन’ विकल्पमार्फत आवश्यक विवरण भरेर नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्।
टेलिकमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिनेछ। नयाँ सिम लिनका लागि काउन्टरमै ५० रुपैयाँ शुल्क तिर्नुपर्ने छ। यदि ग्राहक स्वयं उपस्थित हुन नसकेमा प्रतिनिधिको नाम आवेदन फाराममै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
नेपाल टेलिकमका अनुसार उक्त पोर्टलमार्फत हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिनुका साथै नयाँ प्रिपेड ई–सिम लिन, भौतिक सिमलाई ई–सिममा परिवर्तन गर्न, नयाँ भौतिक सिम लिन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने सुविधा पनि उपलब्ध छ।
नेपाल टेलिकमले यस सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्