काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ।
करिब १९ अर्ब रुपैयाँ लागतमा नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको सुरुङको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।
सडक विभागका अनुसार उद्घाटन भएपनि सुरुङ सर्वसाधारणका लागि भने खुला हुने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। त्यसपछि सुरक्षा प्रणालीको परीक्षण र ‘मक ड्रिल’ सम्पन्न गरी करिब एक महिनाभित्र सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने तयारी गरिएको विभागले जनाएको छ।
२.६८ किलोमिटर लामो मुख्य सुरुङसहित कुल करिब ५.५ किलोमिटर संरचनात्मक लम्बाइ रहेको यस सुरुङमार्ग सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग भएर काठमाडौं भित्रिने तथा बाहिरिने सवारीको यात्रा समय घट्ने एवं पहिरो र ट्राफिक जामको समस्या कम हुने अपेक्षा गरिएको छ।
विभागका अनुसार मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रयोग गर्न अनुमति दिइने छैन।
















प्रतिक्रिया दिनुहोस्