काठमाडौं। २६ दिनसम्म जारी आमरण अनशनपछि अभियन्ता सोनम वाङ्चुकले आफ्नो अनशन अन्त्य गरेका छन्। वाङ्चुकले हरियाणाको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहीबार राती अनशन तोडेका हुन्।
मध्यरातपछि जारी गरेको वक्तव्यमा वाङ्चुकले विभिन्न सर्तहरूमा लामो वार्तापछि देशमा सम्भावित हिंसालाई मध्यनजर गर्दै आफूले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। अस्पतालबाट उनले सार्वजनिक गरेको भिडियो सन्देशमा भने, ‘ विभिन्न राजनीतिक दलका ६५ सांसदहरुले यहाँ आएर हस्ताक्षर गरेर मलाइ अनसन तोड्न भनेका थिए। उनीहरु सबैले नीट पेपर लिकसँगै अन्य परीक्षा र हाम्रो परीक्षा प्रणालीबारे संसदमा छलफल गर्ने आस्वासन दिएका छन्।’
उनका अनुसार सरकारको तर्फबाट आएका मन्त्रीले लेखेरै दिल्लीको जन्तर–मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने युवामाथि मुद्दा दर्ता नगर्ने तथा नीट प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाका कारण आत्महत्या गरेका पीडितका परिवारलाई उपयुक्त क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेपछि अनसन तोडिएको हो ।
‘ दिल्लीको जन्तर–मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने तथा २० जुलाई २०२६ मा संसदतर्फको मार्चमा सहभागी भएकाविरुद्ध मुद्दा दर्ता नगर्ने विषयमा सरकार सकारात्मक रहेको छ,’ हिजो अस्पताल पुगेर मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले लिखित सहमती दिँदै भनेका छन्, ‘ सरकारले प्रश्नपत्र चुहावटको समस्या समाधान गर्न तथा परीक्षा प्रणालीमा आवश्यक शैक्षिक सुधारका विषयमा संसदमा विस्तृत छलफल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। साथै, हालै भएको नीट प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाका कारण आत्महत्या गरेका पीडितका परिवारलाई उपयुक्त क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि सरकार सकारात्मक रूपमा विचार गरिरहेको जनाएको छ।’
मन्त्री जितेन्द्र सिंहले वाङ्चुकलाई उठ्न सहयोग गरिरहेको र जेपी नड्डाले उनलाई अनशन तोड्न पहिलो घुट्को पिउन दिएको सार्वजनिक भिडियोमा देखिन्छ। उक्त अवसरमा उनकी पत्नी गीताञ्जली आङ्मो पनि उपस्थित थिइन्। वाङ्चुकले आफूले कुन–कुन सर्तमा अनशन अन्त्य गर्न सहमति जनाएको हो भन्नेबारे चाँडै विस्तृत भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्।
पछिल्लो समय भारतमा हुँदै आएको नीटलगायतका विभिन्न सरकारी तहमा लिइने परीक्षाको प्रश्नपत्र चुहावट तथा देशको शैक्षिक प्रणालीमाथि युवाको बढ्दो असन्तुष्टिको विरोधमा भारतीय ककरोज जनता पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजनीनामा माग गर्दै दिल्लीको जन्तर–मन्तरमा सुरु भएको शान्तिपूर्ण प्रदर्शनमा समर्थन गर्दै वाङ्चुकले गत जुन २८ देखि आमरण अनशन सुरु गरेका थिए ।
२० तारिखमा दिल्लीको जन्तर–मन्तरमा ठूलो संख्यामा युवाले प्रर्दशन गरेका थिए । सोही दिन सुरक्षा निकायले युवामाथि लाठिचार्ज र अश्रुग्यास प्रहार गर्दै दमन गरेपछि २१ तारिखबाट युवाको शान्तिपूर्ण प्रर्दशन झनै चर्र्किएको थियो। आक्रोशित युवाले शिक्षामन्त्री प्रधानसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको समेत राजीनामा माग गर्दै चर्को विरोध गरेपछि अन्तत : मोदी सरकारले सीजेपी नेतृत्वको आन्दोलनका मागलाई सम्बोधन गर्ने भरोसा वाङ्चुकलाई दिलाएको हो।
















प्रतिक्रिया दिनुहोस्