Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

वालेन सरकारको ब्रान्डिङपछि डीडीसीको कारोबार ४ अर्ब पुग्यो, किसानको भुक्तानी अझै बाँकी

वालेन सरकारको ब्रान्डिङपछि डीडीसीको कारोबार ४ अर्ब पुग्यो, किसानको भुक्तानी अझै बाँकी
विज्ञापन
Advertisement

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण किसानलाई भुक्तानीमा ढिलाइ भए पनि अहिले बक्यौता भुक्तानी अवधि ६–७ महिनाबाट घटेर २–३ महिनामा झारेको जनाएको छ। डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले फ्लस सिजनमा अपेक्षाभन्दा बढी दूध संकलन हुँदा त्यसलाई बटर र दूध पाउडरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाहमा समस्या भएको बताए। उनका अनुसार ती उत्पादन बिक्री हुन समय लाग्दा किसानलाई भुक्तानी दिन ढिलो भएको हो।

‘हामी कुनै पनि किसानको दूध खेर जान दिँदैनौं। बढी उत्पादन भएको समयमा दूधलाई पाउडर र बटर बनाएर भण्डारण गर्नुपर्छ। ती उत्पादन बिक्री हुन कम्तीमा छ महिना लाग्ने भएकाले नगद प्रवाह प्रभावित हुन्छ,’ उनले भने। उनका अनुसार अहिले मौज्दात क्रमशः बिक्री भइरहेकाले किसानको भुक्तानी सहज बन्दै गएको छ।

देशभरबाट दूध संकलन, लागत बढी

गौतमले डीडीसीले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका किसानबाट दूध संकलन गर्दै आएको बताए। दुर्गम क्षेत्रका किसानको दूध पनि बजारसम्म पुर्‍याउने सरकारी जिम्मेवारीका कारण निजी डेरीको तुलनामा ढुवानी, कोल्ड चेन र व्यवस्थापनमा बढी लागत व्यहोर्नुपर्ने उनले बताए।‘हामी नजिकको दूध मात्रै संकलन गरेर पनि सञ्चालन गर्न सक्थ्यौं। तर दुर्गम क्षेत्रका किसानलाई पनि बजारको पहुँच दिलाउने उद्देश्यले देशभरबाट दूध संकलन गरिरहेका छौं,’उनले भने। उनका अनुसार निजी डेरीहरू नाफामुखी रूपमा उत्पादन क्षेत्र नजिकबाट मात्रै दूध संकलन गर्ने भएकाले लागत व्यवस्थापनमा उनीहरूलाई सहज हुन्छ।

खुला दूध र निजी डेरीसँग प्रतिस्पर्धा

हाल डीडीसीले खुला रूपमा बिक्री हुने दूध र निजी डेरीसँगको प्रतिस्पर्धालाई प्रमुख चुनौतीका रूपमा लिएको छ। गौतमका अनुसार उपभोक्तामा खुला दूधप्रति अझै विश्वास कायम रहेकाले प्याकेजिङ गरिएको दूधको बजार विस्तारमा चुनौती छ। यद्यपि, डीडीसीले देशभरबाट संकलित दूधलाई पूर्ण कोल्ड चेन र सरकारी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरेर बजारमा ल्याउने गरेको उनले बताए।

वालेनको प्रचरले बिक्रीमा सुधार

प्रवक्ता गौतमले नयाँ सरकारले स्वदेशी उत्पादन प्रवर्द्धनमा चासो देखाएपछि डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताए। उनका अनुसार सरकारी तहबाट भएको प्रचार–प्रसारले दुग्धजन्य पदार्थको बिक्री बढाउन सहयोग पुगेको छ। वालेन सरकारले सामाजिक सञ्जालदेखि क्याविनेटसम्म डीडिीसीका उत्पादनको प्रचार गरेको थियो। त्यसपछि दुग्धजन्य प्रडक्टको बिक्री ह्वात्तै बढेको हो । यद्यपि, बिक्री वर्षभरि समान नहुने र चाडपर्व, विवाह, व्रतबन्ध तथा गर्मीयाममा दही, मोही, लस्सी र आइसक्रिमको माग उल्लेखनीय रूपमा बढ्ने उनले बताए।

मोहीलाई कोल्ड ड्रिंकको विकल्प बनाउने अभियान

डीडीसीले यस वर्षदेखि मोहीलाई नयाँ ब्रान्डिङसहित बजारमा ल्याएको छ। गौतमका अनुसार प्राकृतिक र स्वास्थ्यका दृष्टिले लाभदायक भएकाले मोहीलाई कोक, फ्यान्टा लगायतका चिनीजन्य पेय पदार्थको स्वदेशी विकल्पका रूपमा प्रवर्द्धन गर्न थालिएको हो।‘उपभोक्ताले स्वदेशी मोही प्रयोग गर्दा त्यसको प्रत्यक्ष लाभ गाउँका किसानसम्म पुग्छ,’ उनले भने।

बटर र दूध पाउडरको स्टक घट्दै

डीडीसीका अनुसार गत वर्ष करिब ५०० मेट्रिक टन बटर र ७०० मेट्रिक टन दूध पाउडर मौज्दात रहेको थियो। अहिले वैशाखदेखि असोजसम्मको ‘लिन सिजन’ मा दूध उत्पादन घट्ने तर बजारको माग बढ्ने भएकाले ती मौज्दात क्रमशः बिक्री भइरहेको संस्थानले जनाएको छ। डीडीसीले उत्पादन प्रविधिको आधुनिकीकरणलाई अहिलेको प्रमुख आवश्यकता औंल्याएको छ। गौतमका अनुसार वि.सं. २०४५ पछि उत्पादन प्रविधिमा ठूलो लगानी हुन नसकेकाले अहिले पनि करिब ४० वर्ष पुरानो प्रणालीबाट उत्पादन भइरहेको छ। उनले आधुनिक प्रविधिमा लगानी भए बेबी पाउडर, चकलेटलगायत मूल्य अभिवृद्धि भएका दुग्धजन्य उत्पादन नेपालमै उत्पादन गर्न सकिने बताए।‘डीडीसी सेवामूलक संस्था भएकाले आफैंले मूल्य निर्धारण गरेर ठूलो नाफा कमाउन सक्दैन। त्यसैले प्रविधि सुधारका लागि सरकारको लगानी आवश्यक छ’,उनले भने।

प्रवक्ता गौतमले किसान र उपभोक्तालाई स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह गर्दै उनीहरूको निरन्तर साथकै कारण संस्थाले सेवा सञ्चालन गर्न सफल भएको बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit