काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा. पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। साथै नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिको कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत उनले काम गरिसकेका छन्।डा. पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (MS) अध्ययन गोल्ड मेडलसहित पूरा गरेका हुन्। त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता, परीक्षा, आचारसंहिता तथा चिकित्सा पेशासम्बन्धी नियमनको काम गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्