Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता (एजुकेसन मोबिलिटी) र त्यसको विकासक्रमलाई बुझेर मात्रै इक्यानको संस्थागत महत्व बुझ्न सकिने बताए । उनले भने, ‘धेरैले इक्यान भनेको विदेश पठाउनेहरूको संस्था हो, तपाईंहरू विदेश पठाउनुहुन्छ, सामान्य काम गर्नुहुन्छ भन्ने धारणा बनाउनुभएको छ । तर यसको इन्स्टिच्युसनल सिग्निफिकेन्स बुझ्न नेपालको एजुकेसन मोबिलिटी र यसको इभोलुसनलाई बुझ्नुपर्छ ।’

उनका अनुसार कुनै समय नेपाली विद्यार्थीका लागि भारत स्वाभाविक र लगभग अपरिहार्य शैक्षिक गन्तव्य रहे पनि अहिले नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, कोरियालगायत विश्वका प्रमुख मुलुकसम्म विस्तार भएको छ । भट्टराईले शैक्षिक गन्तव्यको विस्तारलाई केवल विदेशमा अध्ययन गर्ने प्रवृत्तिका रूपमा मात्र बुझ्न नहुने बताए । उनका अनुसार नेपाली समाजको आकांक्षामा आएको परिवर्तन, स्थानीय अवसरको सीमाभन्दा बाहिर ज्ञान, सीप, अन्तर्राष्ट्रिय अनुभव, व्यावसायिक अवसर र जीवनका नयाँ सम्भावना खोज्ने सामाजिक चेतनाको विस्तारसमेत हो ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको उदय र विशेषगरी इक्यानको स्थापना यही व्यापक संरचनात्मक परिवर्तनको संस्थागत प्रतिक्रियाका रूपमा भएको उनको भनाइ थियो । उनले यसलाई विदेश अध्ययनका लागि काउन्सिलिङ गर्ने व्यवसायको उदय मात्र नभई नेपाललाई विश्वव्यापी शैक्षिक प्रणालीसँग जोड्ने संस्थागत इन्टरफेसको निर्माणका रूपमा व्याख्या गरे । भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको उदय आफैंमा महत्वपूर्ण सामाजिक घटनाका रूपमा विकसित हुँदै गएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय शिक्षा अहिले पूँजी निर्माण, आर्थिक गतिशीलता, विश्वव्यापी अनुभव र नेपालको अन्तर्राष्ट्रिय संलग्नतासँग जोडिएको प्रभावशाली इकोसिस्टमका रूपमा विकास भइरहेको छ ।

उनले इक्यानले आयोजना गर्दै आएको ‘एडुक्लेभ’ ले पनि शिक्षा र मोबिलिटीका विषयमा बहसलाई निरन्तर अगाडि बढाउँदै आएको बताए। ‘एडुक्लेभको उद्देश्य सबैलाई एउटै निष्कर्षमा पु¥याउनु कहिल्यै रहेन, उद्देश्य सही प्रश्न उठाउनु थियो,’ उनले भने, अर्थपूर्ण संवादको सफलता निष्कर्षमा मात्र निर्भर हुँदैन। कहिलेकाहीँ एउटा सही प्रश्नले वर्षौंदेखि स्थापित गरेको निश्चिततालाई चुनौती दिन सक्छ र बहसको दिशा बदलिदिन सक्छ।’ उनले एडुक्लेभका विगतका श्रृंखलामा नलेज इकोनोमी, स्टडी इन नेपाल तथा जेनेरेसन जीका बदलिँदा आकांक्षा र राजनीतिक मनोविज्ञानलगायत विषयमा समयमै बहस गरिएको बताए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको वैदेशिक रोजगारीको इतिहास लामो रहेको उल्लेख गर्दै विदेशमा रोजगारीलाई अवसरका रूपमा हेर्नुपर्ने बताए ।

उनले नेपालको पहिलो वैदेशीक रोजगारीको उदाहरणका रूपमा अरनिको चीन गएको प्रसंग उल्लेख गरे । ‘हाम्रो पहिलो फरेन्ट इम्प्लोइमेन्ट सुरु भएको भनिन्छ, ६ सय वर्ष अगाडि जब अरनिको चीन गएर त्यहाँ ठूला–ठूला प्रतिमाहरू बनाउनका लागि सहभागी हुनुभएको थियो । त्यो हाम्रो फस्ट इम्प्लोइमेन्ट हो भनेर भनिन्छ,’ उनले भने । झाले नेपालले वैदेशिक रोजगारीलाई लामो समयदेखि अवसरभन्दा पनि अभिशापका रूपमा लिएको भए पनि विश्वका धेरै देशले विदेशी रोजगारी र विदेशमा प्राप्त अवसरलाई सदुपयोग गरेर विकास गरेको बताए ।‘धेरै वटा देशको इतिहास हेर्दाखेरी त्यो देश बनेकै फरेन्ट इम्प्लोइमेन्टका अवसरहरूलाई प्रयोग गरेर हो । उनीहरूले त्यसलाई अवसरका रूपमा लिएर देश बनाएका छन्,’ उनले भने ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, प्राडा कुसुम शाक्यलगायतले शैक्षिक परामर्श क्षेत्रको हालको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit