काठडौंमा। भदौ ९ गतेदेखि काठमाडौंमा सुरु हुने १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यसपटकको अटो शो नयाँ मोडल, विद्युतीय सवारी र नेपालमै एसेम्बल भएका दुईपाङ्ग्रे सवारीका कारण विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ ।
नाडा अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्रान्ड यात्रीले आफ्नो पहिलो ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘यात्री पीटु’ सार्वजनिक गर्दैछ । सिप्रदी यात्री प्रालिले उत्पादन गरेको उक्त स्कुटरको बिक्रीसमेत अटो शोबाटै सुरु गर्ने तयारी गरेको छ । स्कुटरलाई अटो शोको ‘मेड इन नेपाल’ पभिलियनमा प्रदर्शन गरिनेछ । यस वर्षको अटो शोमा ११ कम्पनीका १३ ब्रान्डले दुईपाङ्ग्रे सवारी साधन प्रदर्शन गर्नेछन् । ती ब्रान्डका विभिन्न नयाँ तथा अपडेटेड मोडल गरी डेढ दर्जनभन्दा बढी उत्पादन अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
एमएडब्लू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले ‘यामाहा एक्सएसआर’सहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शोका लागि आकर्षक स्टल निर्माण गरिरहेको जनाएको छ । नयाँ मोडलको मूल्य तथा अन्य प्राविधिक जानकारी अटो शोको पहिलो दिन सार्वजनिक गरिनेछ । यसैगरी, सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री सुरु गर्ने तयारी गरेको छ । सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले ‘भीएक्स जेड’ स्कुटर र ‘केथ्री डट’ मिनी मोटरसाइकलसमेत प्रदर्शनीमा राख्ने जनाएको छ । यसले अटो शोमा विद्युतीय दुईपाङ्ग्रे सवारीप्रतिको बढ्दो आकर्षणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा सहभागिता जनाउनेछ । मिचे अटोले नेपालमै विद्युतीय दुईपाङ्ग्रे सवारीको एसेम्बलिङ गर्दै आएको छ । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले अटो शो सुरु हुनुभन्दा दुई दिनअघि बजारमा सार्वजनिक गरेको नयाँ क्लासिक मोडललाई अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको छ । यससँगै क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायतका दुईपाङ्ग्रे ब्रान्डले पनि नाडा अटो शोमा सक्रिय सहभागिता जनाउँदैछन् ।

नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो
१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ दुईपाङ्ग्रे मोडल सार्वजनिक हुनुले नेपाली बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीतर्फ बढ्दो आकर्षणलाई संकेत गरेको छ । विशेषगरी नेपालमै विकास तथा उत्पादन गरिएको ‘यात्री पीटु’को सार्वजनिकले नेपाली अटोमोबाइल क्षेत्रमा स्थानीय पुँजी, सीप र इन्जिनियरिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले अटो शो अवलोकनकर्ताले विभिन्न विकल्पलाई नजिकबाट हेर्न, तुलना गर्न तथा आफ्नो आवश्यकता र बजेटअनुसारका दुईपाङ्ग्रे सवारी छनोट गर्न सक्नेछन् । नयाँ प्रविधि र उत्पादनको बढ्दो उपस्थितिका कारण यस वर्षको नाडा अटो शो नेपाली दुईपाङ्ग्रे बजारका लागि विशेष महत्त्वपूर्ण हुने देखिएको छ।
















प्रतिक्रिया दिनुहोस्