काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन् ।
मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे ।तर उद्योग खुलेपछि तिनको अवस्था र समस्या समाधानमा सरकारले ध्यान नदिएको उनको गुनासो थियो । उनले भने,‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, सहुलियत दिन्छौँ’ भन्नुभएको थियो । तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ ? सरकारले कहिल्यै चासो दिएको छैन ।’
श्रेष्ठले सरकारले चर्चित उद्योगको अवस्थाबारे समेत ध्यान नदिएको आरोप लगाए । लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रयास भइरहे पनि नयाँ तथा सञ्चालनमा रहेका उद्योगले भोगिरहेका समस्याबारे सरकारले पर्याप्त चासो नदिएको उनले बताए । ‘२०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू खोल्ने, अरू उद्योगको समस्या के छ भन्ने ध्यान नदिने अवस्था छ । बुढापाकाले भन्थे नि, भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला भन्ने कुरामा सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भने । उनले अटोमोबाइल क्षेत्रका उद्योगीले भोगिरहेका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे । निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म तथा व्यावसायिक वातावरण नबनेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो ।
श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै बजार शिथिल हुँदा समग्र माग बढ्न नसकेको बताए । उद्योग तथा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भइरहेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो । उनले भने,‘अहिले मुलुकको अर्थतन्त्र चुनौतीको घडीमा छ । हामी सबैले एउटा चुनौती भोगिरहेका छौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन । उद्योग व्यवसाय सञ्चालनमा पनि कठिन भइरहेको छ । व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर मनस्थितिको अवस्थामा छ । मेरो आफ्नै ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो अवस्था पहिले देखेको छैन ।’
















प्रतिक्रिया दिनुहोस्