काठमाडौं । सरकारले स्वदेशी उद्योगको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम पुनः सञ्चालनमा ल्याउने भएको छ। यस कार्यक्रमअन्तर्गत तोकिएका वस्तु उत्पादन गरी निर्यात गर्ने उद्योगले निर्यात मूल्यको अधिकतम १० प्रतिशतसम्म प्रोत्साहन रकम प्राप्त गर्न सक्नेछन्।
यसअघि सरकारले स्रोत अभावको कारण देखाउँदै ८ प्रतिशत नगद अनुदान वितरण कार्यक्रम खारेज गरेको थियो। गत वर्ष असोजमा खारेज गरिएको उक्त कार्यक्रमलाई अहिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नयाँ स्वरूपमा अघि बढाउन लागेका हुन्। कार्यक्रम कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ तयार पारेको छ। नयाँ कार्यविधिले कृषि तथा खाद्य प्रशोधन, वनजन्य उत्पादन, हस्तकला, कपडा तथा जुत्ताचप्पललगायत विभिन्न क्षेत्रका स्वदेशी उत्पादनलाई प्रोत्साहनको दायरामा समेटेको छ।
कार्यविधिअनुसार प्रोत्साहन पाउने वस्तुहरूको सूचीमा प्रशोधित चिया, प्रशोधित कफी, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइसिङ, तेल तथा पाउडरसहित), प्रशोधित बेसार र प्रशोधित मसला समावेश छन्। त्यस्तै, प्रशोधित मह, प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, च्याउ तथा तिनका प्रशोधित सामग्री र नयाँ प्रविधिबाट बिरुवा उत्पादन गर्ने टिस्यु कल्चर तथा एग्रो फरेस्टसम्बन्धी उद्योग पनि कार्यक्रममा पर्छन्। अन्य खाद्य प्रशोधनजन्य उत्पादनतर्फ चाउचाउ, बिस्कुट, पास्ता र चिजबल्स, स्प्रिङ वाटर तथा वाइन र साइडरलाई समेत समेटिएको छ।
त्यसैगरी, कपास खेती, कपास र कपासको बिउ उत्पादन तथा प्रशोधन, प्राङ्गारिक मल, बेत, बाँस र अल्लोजस्ता प्राकृतिक रेशाजन्य उत्पादन, गैरकाष्ठजन्य वन पैदावारमा आधारित सामग्री, फर्निचर, पार्केटिङ, सिजनिङ, प्लाइउड तथा कम्पोजिट बोर्डजस्ता काठबाट बनेका सामग्री पनि प्रोत्साहनको सूचीमा छन्। प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, कागज, लोक्ताबाट बनेको हाते कागज र त्यसबाट उत्पादित सामग्री, हस्तकला तथा काष्ठकलाका वस्तु, ऊनी गलैँचा, पस्मिना, यार्न, टेक्स्टायल तथा ऊनीबाट बनेका सामग्री (फेल्टसहित) पनि यसमा समावेश छन्। यसबाहेक प्रशोधित छाला (क्रस्ट) तथा छालाजन्य उत्पादन, जुत्ता–चप्पल, तयारी पोशाक, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना र आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगले समेत कार्यक्रमबाट लाभ लिन सक्नेछन्।
कार्यविधिले प्रोत्साहन रकम प्राप्त गर्न उत्पादन र निर्यात दुवैमा निश्चित मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। उद्योगले आधार वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत उत्पादन वृद्धि गरेको हुनुपर्छ। उत्पादन वृद्धि गणना गर्दा उत्पादित वस्तुको परिमाणलाई ४० प्रतिशत र बिक्री मूल्यलाई ६० प्रतिशत भार दिइनेछ। यसका साथै उत्पादन नेपालबाट भारतबाहेकका तेस्रो मुलुकमा निर्यात भएको हुनुपर्छ। निर्यातकर्ताले नेपालबाट निर्यात गर्दा विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको प्रमाण पनि पेस गर्नुपर्ने व्यवस्था छ। एउटै उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुका लागि प्रोत्साहन रकम लिन पाउने छैन।
प्रोत्साहन रकम वितरणका लागि सरकारले उत्पादन वृद्धिलाई मात्रै आधार बनाएको छैन। कार्यविधिको अनुसूची–५ मा कुल १०० पूर्णाङ्कको मूल्याङ्कन प्रणाली निर्धारण गरिएको छ। यसमा उत्पादन अभिवृद्धिलाई ५० अंक, निर्यातमा योगदानलाई २० अंक, मूल्य अभिवृद्धिलाई १० अंक, राजस्वमा योगदानलाई १० अंक, रोजगारी सिर्जनालाई ५ अंक र उद्योगको भौगोलिक अवस्थितिलाई ५ अंक दिइएको छ।
उत्पादन अभिवृद्धिअन्तर्गत बिक्री मूल्यमा भएको वृद्धि र उत्पादित परिमाणमा भएको वृद्धिलाई छुट्टाछुट्टै मूल्याङ्कन गरिनेछ। बिक्री मूल्यमा भएको वृद्धि २५ प्रतिशतभन्दा बढी भए ३० अंक, २० प्रतिशतभन्दा बढी तर २५ प्रतिशतसम्म भए २५ अंक, १५ प्रतिशतभन्दा बढी तर २० प्रतिशतसम्म भए २० अंक र १० प्रतिशतभन्दा बढी तर १५ प्रतिशतसम्म भए १५ अंक दिने व्यवस्था छ। त्यसैगरी, उत्पादन परिमाणमा भएको वृद्धि २५ प्रतिशतभन्दा बढी भए २० अंक, २० प्रतिशतभन्दा बढी तर २५ प्रतिशतसम्म भए १६ अंक, १५ प्रतिशतभन्दा बढी तर २० प्रतिशतसम्म भए १२ अंक र १० प्रतिशतभन्दा बढी तर १५ प्रतिशतसम्म भए ८ अंक दिइनेछ।
निर्यातमा योगदानको मूल्याङ्कन गर्दा उद्योगको कुल बिक्रीमा निर्यातको हिस्सा हेरिनेछ। कुल बिक्रीको ८० प्रतिशतभन्दा बढी निर्यात भए २० अंक, ६० प्रतिशतभन्दा बढी तर ८० प्रतिशतसम्म भए १६ अंक, ४० प्रतिशतभन्दा बढी तर ६० प्रतिशतसम्म भए १२ अंक र २० प्रतिशतभन्दा बढी तर ४० प्रतिशतसम्म निर्यात भए ८ अंक प्रदान गरिनेछ। यसैगरी, मूल्य अभिवृद्धितर्फ ७० प्रतिशतभन्दा बढी भए १० अंक, ५० प्रतिशतभन्दा बढी तर ७० प्रतिशतसम्म भए ८ अंक र ३० प्रतिशतभन्दा बढी तर ५० प्रतिशतसम्म भए ६ अंक प्राप्त हुनेछ। मूल्य अभिवृद्धि गणना गर्दा कारखाना मूल्यबाट विदेशी कच्चा पदार्थको मूल्य घटाएर बाँकी रकमलाई कारखाना मूल्यले भाग गरी १०० ले गुणन गर्ने सूत्र अपनाइनेछ।
राजस्वमा योगदानको मूल्याङ्कन आधार वर्षको तुलनामा आयकरमा भएको वृद्धि र आयकरको अनुपातका आधारमा गरिनेछ। आयकरमा १५ प्रतिशतभन्दा बढी वृद्धि भए १० अंक, १० प्रतिशतभन्दा बढी तर १५ प्रतिशतसम्म वृद्धि भए ८ अंक, ५ प्रतिशतभन्दा बढी तर १० प्रतिशतसम्म वृद्धि भए ६ अंक र ५ प्रतिशतसम्म वृद्धि भए ४ अंक दिइने व्यवस्था छ। रोजगारी सिर्जनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको अनुपात हेरिनेछ। कोषमा ७६ देखि १०० प्रतिशतसम्म श्रमिक आबद्ध भए ५ अंक, ५१ देखि ७५ प्रतिशतसम्म भए ४ अंक, २६ देखि ५० प्रतिशतसम्म भए ३ अंक र २५ देखि ५० प्रतिशतसम्म भए २ अंक प्रदान गरिने कार्यविधिको मूल्याङ्कन तालिकामा उल्लेख छ। भौगोलिक अवस्थितितर्फ अति अविकसित क्षेत्रमा उद्योग सञ्चालन भए ५ अंक, अविकसित क्षेत्रमा भए ४ अंक, कम विकसित क्षेत्रमा भए ३ अंक र अन्य क्षेत्रमा भए २ अंक दिइनेछ।
उद्योगको मूल्याङ्कनमा कम्तीमा ५० अंक प्राप्त गर्नुपर्नेछ। ५० अंकभन्दा कम प्राप्त गर्ने उद्योगले प्रोत्साहन रकम पाउने छैनन्। प्राप्ताङ्कका आधारमा प्रोत्साहन दर निर्धारण गरिएको छ। ९१ देखि १०० अंक प्राप्त गर्ने उद्योगले बढेको बिक्री मूल्यको १० प्रतिशत, ८१ देखि ९० अंक प्राप्त गर्नेले ८ प्रतिशत, ७१ देखि ८० अंक प्राप्त गर्नेले ६ प्रतिशत, ६१ देखि ७० अंक प्राप्त गर्नेले ४ प्रतिशत र ५० देखि ६० अंक प्राप्त गर्नेले २ प्रतिशत प्रोत्साहन रकम पाउनेछन्।
प्रोत्साहन रकम गणना गर्दा पछिल्लो आर्थिक वर्षमा उत्पादित वस्तुको कुल बिक्री मूल्यबाट आधार वर्षको कुल बिक्री मूल्य घटाएर प्राप्त हुने रकमलाई सम्बन्धित उद्योगले प्राप्त गरेको प्रोत्साहन दरले गुणन गरिनेछ। तर यसरी गणना भएको रकम र उद्योगको वर्गअनुसार तोकिएको अधिकतम सीमामध्ये जुन कम हुन्छ, त्यही रकम मात्र उपलब्ध गराइनेछ। औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसारका साना उद्योगले अधिकतम ३० लाख रुपैयाँ, मझौला उद्योगले ५० लाख रुपैयाँ र ठूला उद्योगले ८० लाख रुपैयाँसम्म प्रोत्साहन रकम पाउनेछन्। कार्यक्रमका लागि विनियोजित बजेटमध्ये साना उद्योगका लागि ३० प्रतिशत, मझौला उद्योगका लागि ३५ प्रतिशत र ठूला उद्योगका लागि ३५ प्रतिशत बजेट छुट्याइने व्यवस्था छ।
प्रोत्साहन रकम प्राप्त गर्न उद्योग प्रचलित कानुनअनुसार दर्ता भई नियमित नवीकरण भएको हुनुपर्नेछ। स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको, आधार वर्ष र पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरेको तथा आधार वर्षको कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। त्यस्तै, उत्पादनमा कम्तीमा १० प्रतिशत वृद्धि भएको प्रमाणित गर्ने कागजात, सरकारी बाँकी बक्यौता नरहेको र कालोसूचीमा नपरेको स्वघोषणा तथा बैंकिङ कारोबार भएको प्रमाण पनि पेस गर्नुपर्नेछ। उद्योग वा निर्यातकर्ताले प्रोत्साहन रकमका लागि आवेदन दिँदा उद्योग दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, उत्पादन वृद्धि पुष्टि गर्ने बिलबिजक तथा प्रज्ञापनपत्रलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। यसका साथै एउटै प्रकृतिको प्रोत्साहन रकम अन्य सरकारी निकायबाट नलिएको स्वघोषणा पनि आवश्यक पर्नेछ। झुटा विवरण वा कागजात पेस गरी रकम लिएको पाइएमा प्रचलित कानुनअनुसार रकम असुलउपर गरिने कार्यविधिमा उल्लेख छ।
प्रोत्साहन रकम वितरणको जिम्मेवारी उद्योग विभागलाई दिइएको छ। विभागले प्राप्त आवेदनको मूल्याङ्कन गरी कम्तीमा ५० अंक प्राप्त गर्ने उद्योग तथा निर्यातकर्ताको सूची तयार गर्नेछ। मूल्याङ्कनमा बढी अंक प्राप्त गर्नेले विनियोजित बजेटको सीमाभित्र रहेर प्राथमिकताका आधारमा रकम प्राप्त गर्नेछन्। यसरी कार्यक्रम सञ्चालन गर्दा प्रशासनिक तथा व्यवस्थापन खर्चका लागि विनियोजित बजेटको अधिकतम ३ प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।
यसरी सरकारले यसअघि खारेज गरेको निर्यातमा आधारित नगद अनुदान कार्यक्रमको विकल्पमा उत्पादन वृद्धि, निर्यातको हिस्सा, मूल्य अभिवृद्धि, राजस्व योगदान र रोजगारी सिर्जनालाई समेत जोडेर नयाँ प्रोत्साहन कार्यविधि ल्याएको छ।















प्रतिक्रिया दिनुहोस्