Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महानगरको ‘सिप मेला २०८२’ मा निजी क्षेत्रको साथ, सहकार्यको नयाँ सम्भावना

महानगरको ‘सिप मेला २०८२’ मा निजी क्षेत्रको साथ, सहकार्यको नयाँ सम्भावना
विज्ञापन
Advertisement

काठमाडौं । महानगरपालिकाले सञ्चालन गर्दै आएको ‘सिप मेला’ ले सिपयुक्त जनशक्ति र रोजगारदाताबीच पुलको काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। शुक्रबार महानगर प्रमुख बालेन्द्र शाहसँगको बैठकमा उनीहरूले अघिल्लो वर्ष सम्पन्न मेलाले उत्साहजनक नतिजा दिएको भन्दै आउँदो संस्करणमा अझ व्यापक सहकार्य गर्न तयार रहेको धारणा राखेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

महानगर प्रमुख बालेन शाहले यस वर्ष पनि जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, “मेलासँगै महानगरले वर्षभरि सिपमूलक तालिमहरू सञ्चालन गरिरहेको छ। यस्ता तालिमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारमा आवद्ध गराउन निजी क्षेत्रसँग सहकार्य गर्दै आएका छौं। तपाईंहरूलाई कस्ता जनशक्ति चाहिन्छ भन्ने जानकारी दिनुभयो भने, हामी सोहीअनुसार तालिम सञ्चालन गर्न तयार छौं।”

उनका अनुसार, महानगरपालिका सामाजिक उत्तरदायित्वअन्तर्गत निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न इच्छुक छ। उनले थपे, “यो सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ। निराश युवामा आशा पलाउँछ र, यो आशा रोजगारी तथा स्वरोजगारको क्षेत्रमा प्रभावकारी परामर्श बन्न सक्छ।”

बैठकमा उद्योगी तथा व्यवसायीहरूले उद्योग क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्ति अभाव रहेको जनाउँदै, महानगरको तालिम तथा कार्यक्रमहरूले यो अभाव घटाउन सहयोग पुगिरहेको बताए। उनीहरूले आधारभूत तालिमलाई अद्यावधिक गर्दै विशेषज्ञ स्तरको तालिम सञ्चालन गर्न, वैदेशिक रोजगारबाट फर्केका अनुभवी जनशक्तिलाई स्वदेशमै राख्ने वातावरण बनाउन, सेवा निवृत्तहरूलाई श्रम क्षेत्रमा संलग्न गराउन र बिउ पुँजी व्यवस्थापनमा सहजीकरण गर्न बैंकहरूसँग सहकार्य गर्नुपर्ने सुझाव दिए।

नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङ जस्ता सीपयुक्त काममा युवाको आकर्षण कम देखिएको उल्लेख गर्दै उनीहरूले भने, “यही काम विदेशमा गएर सजिलै गर्छन्, तर स्वदेशमा हेपिन्छ। यी पेशामा आकर्षण बढाउनुपर्छ, यी तुरुन्तै रोजगारी दिन सक्ने क्षेत्र हुन्।”

उनीहरूको भनाइमा, नेपालमा रोजगार दिन सकिने ठाउँ पनि छन् र जान चाहने जनशक्ति पनि छन्, तर दुई पक्षबीच समन्वयको अभाव छ। “यो अभाव हटाउने उपयुक्त थलो सिप मेला हुन सक्छ,” उनीहरूले जनाए।

बैठकमा धारणा राख्नेहरूमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के।सी। र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ र शंकर ग्रुपका प्रतिनिधि अखिल गुप्ता रहेका थिए।

बैठकको प्रारम्भमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अघिल्लो वर्षको सिप मेलाबारे जानकारी दिँदै २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनाले तालिम लिएको जानकारी दिए। तालिम लिनेहरूमध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सय जना प्रत्यक्ष रोजगारीमा आवद्ध भएको उनको भनाइ थियो।

उनका अनुसार, आर्थिक वर्ष २०८०र८१ देखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत महानगरको गौरव योजना कार्यान्वयनमा आएको छ। योजना अन्तर्गत ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप विकास तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सिप मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिन सुरु भएको थियो। सो संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। महानगरले सिप मेला मार्फत सीप नभएका जनशक्तिलाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगारीमा जोड्ने, र अनौपचारिक क्षेत्रको श्रमशक्तिलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्ने उद्देश्य राखेको उनले बताए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit