Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

विराटनगर जुट मिल ब्युँताउन सरकारले माग्यो लगानी प्रस्ताव: ३५ वर्षसम्म जग्गा उपलब्ध गराउने, पुरानो ऋणको भार नपर्ने

विराटनगर जुट मिल ब्युँताउन सरकारले माग्यो लगानी प्रस्ताव: ३५ वर्षसम्म जग्गा उपलब्ध गराउने, पुरानो ऋणको भार नपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ । सरकारले मिललाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नीतिगत सहजीकरणमा विराटनगर जुट मिल लिमिटेडले रणनीतिक लगानीकर्ता छनोटका लागि ३५ दिनको समय दिएर आशयपत्र (ईओआई) आह्वान गरेको छ । आज जारी गरेको सूचनामार्फत मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि आर्थिक रूपमा सबल तथा औद्योगिक अनुभव भएका स्वदेशी र विदेशी लगानीकर्तालाई प्रस्ताव पेस गर्न आग्रह गरिएको हो ।

उद्योगमन्त्री इञ्जिनियर दीपककुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै मुलुकको ऐतिहासिक उद्योग पुनः सञ्चालन गर्ने दिशामा ठोस प्रक्रिया अघि बढाएको उनको सचिवालयले जनाएको छ। लामो समयदेखि राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी र आर्थिक समस्याका कारण बन्द हुँदै आएको उद्योगलाई पुनर्जीवन दिने उद्देश्यले सरकारले नीतिगत निर्णय गरी लगानीकर्ता खोज्ने प्रक्रिया अघि बढाएको हो ।

दैनिक १२५ मेट्रिक टन उत्पादन, ५ हजारलाई रोजगारी

प्रस्तावित योजनाअनुसार विराटनगर जुट मिल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाउने प्रक्षेपण गरिएको छ । यसले लामो समयदेखि निष्क्रिय रहेको औद्योगिक सम्पत्तिको उपयोगसँगै स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना र जुटजन्य वस्तुको औद्योगिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

६७ बिघा जग्गा ३५ वर्षसम्म प्रयोग गर्न पाइने

लगानी आकर्षित गर्न सरकारले मिल्सको औद्योगिक जग्गा दीर्घकालीन रूपमा उपलब्ध गराउने योजना अघि सारेको छ । विराटनगर र दमकमा रहेको मिलको कुल ६७ बिघा जग्गा ३५ वर्षसम्मको लिज वा साझेदारी अवधारणाअन्तर्गत लगानीकर्तालाई उपलब्ध गराइनेछ । यस व्यवस्थाले नयाँ लगानीकर्तालाई उद्योगको पूर्वाधार विकास, आधुनिक मेसिनरी जडान र दीर्घकालीन व्यावसायिक योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ ।

पुरानो ऋण र दायित्वको भार नयाँ लगानीकर्तालाई नपर्ने

विराटनगर जुट मिलमा लगानी आकर्षित गर्न सरकारले विगतका वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्वलाई नयाँ लगानीकर्ताबाट अलग राख्ने व्यवस्था प्रस्ताव गरेको छ । मिलका पुराना दायित्व व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको सहयोगमा मिल व्यवस्थापनले नै लिने व्यवस्था गरिएको छ । यसबाट नयाँ लगानीकर्ताले विगतका ऋण तथा अन्य दायित्वको भार नबोकी उद्योगको पुनः सञ्चालन र आधुनिकीकरणमा केन्द्रित हुन पाउनेछन् ।

मेसिनरी आयातदेखि लाभांश फिर्तासम्म सहुलियत

लगानीकर्तालाई आकर्षित गर्न सरकारले विद्यमान कानुनी व्यवस्थाअनुसार विभिन्न सहुलियत उपलब्ध गराउने प्रस्ताव गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मेसिनरी तथा उपकरण आयातमा भन्सार सहुलियत, लगानीबाट प्राप्त लाभांश विदेश लैजान पाउने सुविधा र प्रारम्भिक वर्षमा लिज भाडामा सहुलियत उपलब्ध गराउने योजना छ । यी सुविधाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योगको पुनर्संरचना र आधुनिकीकरणमा लगानी गर्न प्रोत्साहित गर्ने सरकारको अपेक्षा छ ।

एक महिनाभित्र समझदारी गर्ने लक्ष्य

आशयपत्र पेस गर्ने समयसीमा समाप्त भएपछि एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने योजना सरकारले बनाएको छ । त्यसपछि मिल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ । सन् १९३६ (वि.सं. १९९३) मा स्थापना भएको विराटनगर जुट मिल्स नेपालको औद्योगिक इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने उद्योग हो । मुलुककै पहिलो आधुनिक उद्योगका रूपमा स्थापित यो मिल कुनै समय नेपालको औद्योगिक पहिचान र रोजगारीको महत्त्वपूर्ण आधार बनेको थियो ।

तर राजनीतिक अस्थिरता, कमजोर व्यवस्थापन र आर्थिक समस्याका कारण उद्योग पटक–पटक बन्द हुँदै आएको थियो । अहिले सरकारले सार्वजनिक–निजी साझेदारीको माध्यमबाट निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमतालाई उपयोग गर्दै उद्योग पुनः सञ्चालन गर्ने रणनीति लिएको छ । विराटनगर जुट मिल पुनः सञ्चालनको प्रक्रिया सफल भएमा लामो समयदेखि उपयोगविहीन रहेको औद्योगिक सम्पत्तिको सदुपयोग हुनुका साथै औद्योगिक उत्पादन, रोजगारी र निजी लगानी विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit