Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

‘अटोमोबाइल क्षेत्रको राजस्व योगदान ९० अर्ब माथि, स्वदेशी एसेम्बलिङका लागि कम्पोनेन्ट उद्योग आवश्यक’

‘अटोमोबाइल क्षेत्रको राजस्व योगदान ९० अर्ब माथि, स्वदेशी एसेम्बलिङका लागि कम्पोनेन्ट उद्योग आवश्यक’
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले कर नीतिमा स्थिरता कायम गर्नुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार काठमाडौंमा आयोजित १८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने बताए । उनले नाडाले लामो समयदेखि कर नीतिमा स्थिरता कायम गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गर्दै सरकारको प्रतिबद्धता अब व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताए । ‘नाडाले लामो समयदेखि करका दरमा स्थिरता कायम गर्न सरकारलाई सधैँ सुझाव दिँदै आएको छ। सरकार पनि आगामी दिनमा कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके नेपालको व्यावसायिक वातावरण अझ विश्वसनीय बन्नेछ,’ उनले भने।

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा मात्र नहेरी आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा लिन सरकारसँग आग्रह गरे। उनका अनुसार अटोमोबाइल क्षेत्र सवारी साधनको व्यापारमा मात्र सीमित नभई उद्योग, व्यापार, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको छ। यस क्षेत्रमा ठूलो लगानी रहेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको उनले बताए ।
‘त्यसैले अटोमोबाइल क्षेत्रलाई केवल राजस्वको स्रोतको रूपमा होइन, आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारको रूपमा राज्यले हेर्नुपर्छ,’ उप्रेतीले भने।

अध्यक्ष उप्रेतीले सवारी साधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। अहिले सवारी साधन नागरिकको आवतजावत, व्यवसाय र रोजगारीसँग जोडिएको आवश्यकता बनिसकेको भन्दै उनले कर नीतिलाई थप व्यावहारिक र उपभोक्तामैत्री बनाउनुपर्ने बताए । विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नेपालमा नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले स्वदेशमै एसेम्बलिङ र अटोमोबाइल कम्पोनेन्ट उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा एसेम्बलिङ भएका सवारी साधन र त्यसको स्थायित्वको लागि अब हामीले कम्पोनेन्ट उद्योगको स्थापनातिर लाग्नुपर्ने छ र यसको लागि सरकारबाट सहुलियतका लागि पनि आग्रह गर्दछु,’ उनले भने ।

नेपालमा एसेम्बलिङ उद्योगको विस्तारसँगै कम्पोनेन्ट उत्पादनलाई प्राथमिकता दिन सके यसले स्वदेशी उद्योगलाई थप बलियो बनाउने उनको भनाइ थियो । यसका लागि सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।‘सरकार, निजी क्षेत्र, प्रविधि क्षेत्रबीच सहकार्य अत्यन्त आवश्यक छ। नाडा यस प्रकारको सहकार्यका लागि सदैव तयार पनि रहिरहेको छ,’ उनले भने । अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रको विकास सडक पूर्वाधार र सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए । सडक निर्माण गर्दा दीर्घकालीन यातायात योजनालाई आधार बनाउनुपर्ने भन्दै उनले सडक विस्तारसँगै फ्लाइओभर, अन्डरपास, सुरुङमार्ग तथा आधुनिक यातायात प्रणालीको विकासमा पनि ध्यान दिनुपर्ने बताए ।

सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षित सडक, जिम्मेवार चालक, प्रभावकारी ट्राफिक व्यवस्थापन र नियमको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ। यसैगरी, काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको आवश्यकता औँल्याउँदै अध्यक्ष उप्रेतीले भृकुटीमण्डपको प्रदर्शनी स्थल स्तरोन्नतिको योजना शीघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘विश्वमा उत्पादन, प्रविधिको बजारीकरणका लागि प्रदर्शनी एउटा प्रभावकारी माध्यम हो। त्यसैले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्नु आजको आवश्यकता पनि हो,’ अध्यक्ष उप्रेतीले भने ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डपको प्रदर्शनी स्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उनले उक्त योजना छिटो कार्यान्वयन गरी अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रका रूपमा विकास गर्न आग्रह गरे । अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रको विषय व्यवसायीको मात्र हितसँग सम्बन्धित नभई उपभोक्ता, रोजगारी, राजस्व, उद्योग, व्यापार र समग्र अर्थतन्त्रसँग जोडिएको बताए ।‘सरकारसँग हाम्रो आग्रह छ, नीतिगत स्थिरता कायम गरियोस्, लगानीको वातावरण अझ बनोस्, निजी क्षेत्रलाई विश्वासका साथ अघि बढ्न दिइयोस् र साथै अघि बढाऔँ,’ उनले भने ।

सरकारसँग सहकार्य गरेर नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तयार रहेको बताउँदै उनले भने, ‘हामी सरकारका प्रतिस्पर्धी होइनौँ, हामी सहयात्री हौँ।’उनले १८औँ नाडा अटो शो केवल सवारी साधनको प्रदर्शनी मात्र नभई प्रविधि, व्यापार, लगानी र रोजगारीका लागि नेपालको आर्थिक भविष्यसँग जोडिएको साझा मञ्च भएको बताए । ‘आउनुहोस्, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बलियो बनाउँदै नेपालको अटोमोबाइललाई आधुनिक, प्रतिस्पर्धी र दिगो बनाउँ,’ अध्यक्ष उप्रेतीले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit