काठमाडौं । फोक्सोको देब्रे भागतर्फ जाने श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ।
बाराको कलैयाका ती बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो। गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई तत्काल आईसीयूमा भर्ना गरी उपचार सुरु गरिएको थियो। नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर स्पेसलिस्ट डा। अच्युतभक्त आचार्यको नेतृत्वमा रहेको चिकित्सक टोलीले सोमबार बिहान ब्रोंकोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।

डा.आचार्यका अनुसार इमलीको दाना श्वासनलीमा अड्किएर हावा जाने बाटो बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्न छाडेको थियो। संक्रमणका कारण उक्त भाग एक्सरेमा सेतो देखिएको थियो र बालकलाई हाई–फ्लो अक्सिजन सपोर्टमा राखिएको थियो। इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको डा। आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमणका कारण प्रभावित भएको फोक्सोको देब्रे भागसमेत विस्तारै सुधार हुँदै गएको छ।
तीन अस्पताल पुगेपछि मात्रै पत्ता लाग्यो कारण
बालकका बुबाका अनुसार शुक्रबार साँझसम्म बालकको स्वास्थ्य सामान्य थियो। उनले खाना खाएका थिए भने सुत्ने समयमा बुबाआमासँग सामान्य रूपमा कुराकानीसमेत गरेका थिए। तर, राति करिब साढे १० बजे अचानक अत्यधिक खोकी लागेपछि उनलाई सास फेर्न गाह्रो भयो। केहीबेरमै आँखा पल्टाएर अर्धबेहोस अवस्थामा पुगेपछि परिवारले तत्काल कलैयास्थित सरकारी अस्पताल पुर्याएको थियो।
अस्पतालमा अक्सिजन दिँदा पनि उनको अक्सिजनको स्तर ४०–५० प्रतिशत आसपास मात्रै देखिएको थियो। भेन्टिलेटरको सुविधा नभएको भन्दै उक्त अस्पतालले उनलाई अर्को अस्पतालमा रेफर गरेको थियो। त्यसपछि बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा लगेर भेन्टिलेटरमा राखियो। स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि छातीको एक्सरे गरिएको थियो। एक्सरेमा फोक्सोको देब्रे भाग सेतो देखिएपछि चिकित्सकहरूले कडा निमोनियाको आशंका गरेका थिए।
त्यसपछि शनिबार साँझ बालकलाई वीरगञ्जस्थित तेस्रो अस्पतालमा लगेर आईसीयूमा राखियो। केही सुधार हुँदै बोल्न थाले पनि फोक्सोको समस्या हुनुको वास्तविक कारण भने तत्काल पहिचान हुन सकेन।आइतबार बेलुका गरिएको सिटी स्क्यानमा फोक्सोको देब्रे भागतर्फको श्वासनलीमा दानाजस्तो बाह्य वस्तु देखिएपछि समस्या पहिचान भएको हो। श्वासनलीमा बाह्य वस्तु अड्किएको पुष्टि भएपछि थप उपचारका लागि बालकलाई काठमाडौं रेफर गरिएको थियो।

वीरगञ्जबाट करिब चार घण्टाको यात्रामा अक्सिजन सपोर्टमै राखेर बालकलाई आइतबार राति नर्भिक ल्याइएको थियो। नर्भिकमा ब्रोंकोस्कोपीमार्फत इमलीको दाना निकालेपछि बालक होशमा आएका छन् र बोल्नसमेत थालेका छन्। उपचारपछि बालकले आफूले शुक्रबार दिउँसो इमली खाएको बताएका छन्। चिकित्सकहरूले बालबालिकाले खाना वा अन्य वस्तु खाँदा अचानक खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा अक्सिजनको स्तर घट्ने जस्ता समस्या देखिएमा श्वासनलीमा बाह्य वस्तु अड्किएको हुनसक्ने भएकाले तत्काल विशेषज्ञ स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने बताएका छन्।
















प्रतिक्रिया दिनुहोस्