Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

रसुवा बाढी कहर : आफन्तको भीड, आँखामा एउटै प्रश्न ‘हाम्रो मान्छे कहाँ छ’ ?

रसुवा बाढी कहर : आफन्तको भीड, आँखामा एउटै प्रश्न ‘हाम्रो मान्छे कहाँ छ’ ?
विज्ञापन
Advertisement

काठमाडाैं । सबै कुरा सामान्यजस्तै चलिरहेको थियो। घरमा बिहान उठ्ने हतारो थियो। कसैलाई यात्राको तयारी गर्नु थियो, कसैलाई आफन्तलाई बिदाइ गर्न। कसैका आँखामा नयाँ ठाउँ पुग्ने उत्साह थियो, कसैको मनमा लामो समयपछि परिवारसँगै तीर्थयात्रामा निस्किन पाएको खुसी।

विज्ञापन
Advertisement
Advertisement

जिन्दगी यसरी नै चलिरहेको थियो, बिहानपछि दिउँसो, दिउँसोपछि साँझ।
आजपछि भोलि आउने विश्वासमा।

तर कसैलाई थाहा थिएन, त्यो सामान्यजस्तो देखिएको समय नै केही परिवारका लागि जीवनभर सम्झनुपर्ने अन्तिम सामान्य बिहान बन्नेछ।

भदौ ८ गते साँझ काठमाडाैं सोह्रखुट्टेबाट एउटा बस मानसरोवर यात्राका लागि छुट्यो। सर्लाहीको सुखचयनाका शशिभूषण यादव र उनकी श्रीमती रीता रानीसहित १७ जना यात्रामा थिए। परिवारका सदस्यहरूले उनीहरूलाई हाँसीखुसी बिदाइ गरे। यात्रामा निस्किएका आफ्ना मान्छे केही दिनपछि नयाँ अनुभव र तीर्थको प्रसाद बोकेर घर फर्किनेछन् भन्ने विश्वास थियो।

इञ्जिनियर प्रदीप यादवले पनि आफ्ना ससुरा–सासुसहित यात्रामा निस्किएका सबैलाई त्यही विश्वासका साथ बिदाइ गरेका थिए।

सायद त्यो साँझ कसैले सोचेको पनि थिएन,यात्रा त सुरु भयो, तर फर्किने बाटो कहाँ हराउने हो।

भोलिपल्ट बिहान ८ः१५ बजेसम्म सबै सामान्य थियो। त्यसपछि फोन मौन भयो। एकपटक फोन गरियो। उठेन। फेरि गरियो। सम्पर्क भएन। फेरि प्रयास गरियो। उता कुनै आवाज थिएन।

समय बित्दै गयो।

एक घण्टा! दुई घण्टा!
दिउँसो! साँझ! रात! तर फोन आएन।’सायद उहाँहरू रसुवागढी नाकाबाट अध्यागमन पार गरेर चीनतर्फ जाने तयारीमा हुनुहुन्थ्यो; प्रदीप सम्झिन्छन्, ‘नाका पार गरेर चीनतर्फ पुग्नुभयो कि पुग्नुभएन, अहिलेसम्म केही थाहा छैन।’

उनको आवाजमा एउटा प्रश्न छ, जसको उत्तर उनीसँग छैन। ‘धेरैतिर सोधखोज गरिसक्यौं। कुनै जानकारी आएको छैन। भगवानसँग प्रार्थना गरिरहेका छौं उहाँहरू सकुशल फर्कनुहोस्।’

त्यसपछि उनको परिवारका लागि समय घडीको काँटा होइन, प्रतीक्षाको पीडा बनेको छ। जिन्दगीको बीचमै रोकिएको एउटा यात्रा । भोटेकोशीको बाढीले सडक, पुल, संरचना र बस्ती मात्र बगाएन। उसले सयौँ परिवारका योजना पनि एकाएक बगाएर लग्यो।

कसैको तीर्थयात्रा थियो।
कसैको व्यापार।
कसैको रोजगारी।
कसैको घर फर्किने यात्रा।

काठमाडौं सुन्दरीजल, आलपोट निवासी अर्जुन नगरकोटी र लक्ष्मण श्रेष्ठ पनि व्यापारका सिलसिलामा रसुवागढी पुगेका थिए। चीनबाट सामान ल्याएर नेपालमा व्यवसाय गर्ने उनीहरू आफ्नै गाडीमा त्यहाँ पुगेका थिए।

अर्जुनसँग उनकी श्रीमतीकी दिदी उर्मिला तण्डुकारको अन्तिम सम्पर्क कहिले भयो, त्यो परिवारलाई याद छ। त्यसपछि भने फोनको घण्टीले कुनै उत्तर पाएन।

तीन दिन बितिसक्यो।

उर्मिलाका लागि समय बित्नु भनेको आशा घट्नुजस्तो भएको छ। “समय जति बित्दै जान्छ, उति अन्योल र तनाव बढ्दै गएको छ,’ उनी भन्छिन्, “सबैतिर बुझिसक्यौँ। कतैबाट सकारात्मक खबर आएको छैन।’

केहीबेर रोकिएर उनी भन्छिन्

‘के गर्ने, कसो गर्ने, बहिनीलाई कसरी सम्झाउने। केही सोच्न सकिएको छैन।’

कहिलेकाहीँ जीवनमा सबैभन्दा ठूलो पीडा कुनै नराम्रो खबर होइन, खबर नै नहुनु हुन्छ।  मृत्युको खबरले कम्तीमा एउटा सत्य बताउँछ। तर सम्पर्कविहीनताको पीडामा आशा र डर दुवै एकैपटक बाँचिरहेका हुन्छन्।

एउटा फोनको प्रतीक्षा

डा. आयुश अधिकारी र डा. कुशल आचार्य पनि कैलाश मानसरोवर यात्रामा थिए। परिवारसँग उनीहरूको अन्तिम सम्पर्क भदौ ९ गते बिहान ८ः४५ बजे भएको थियो।

त्यसपछि मौनता।

डा. आयुशकी आमा शान्ता अधिकारीको मनमा सायद अहिले पनि त्यही अन्तिम फोनको आवाज घुमिरहेको होला।

आफ्नो मान्छेको आवाज एकपटक सुन्न पाए हुन्थ्यो। ‘हामी ठीक छौँ’ भन्ने एउटा वाक्य मात्रै सुन्न पाए हुन्थ्यो।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ का २३ वर्षीय श्रीकान्त कार्की पनि त्यही बाढीपछि सम्पर्कविहीन छन्। चीनको केरुङमा कार्यक्रमका लागि निस्किएका पत्रकार टेकराज थामीको परिवार पनि फोन आउने प्रतीक्षामै छ।

कसैका मोबाइलमा पुराना तस्बिर छन्।
कसैका मोबाइलमा अन्तिम कलको विवरण।
कसैसँग यात्रामा निस्कँदाको भिडियो।

तर उनीहरूका हातमा अहिले एउटा कुरा छैन—
आफ्ना मान्छे कहाँ छन् भन्ने खबर।

विदुरमा जम्मा भएका आँखाहरू

नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र परिसरमा बिहीबारदेखि आफन्तहरू जम्मा भइरहेका छन्।

कसैले हराएको मान्छेको नाम टिपाइरहेको छ। कसैले तस्बिर देखाइरहेको छ। कसैले अन्तिमपटक कहाँ सम्पर्क भएको थियो भनेर बताइरहेको छ।

सबैका कथा फरक छन्।

तर पीडा एउटै छ।

‘हाम्रो मान्छेको खोजी गरिदिनुस्।’

नुवाकोटको विदुर नगरपालिकाका अनुसार विभिन्न वडाबाट १४० जना हराएको जानकारी प्राप्त भएको छ। गोरखाको पालुङटारबाट गोसाइँकुण्ड यात्रामा निस्किएका सागर देवकोटासहित ३० जनाको टोली पनि सम्पर्कविहीन भएको छ।

पालुङटार नगरपालिकाले उनीहरूको तस्बिरसहित विवरण सार्वजनिक गर्दै खोजीका लागि आग्रह गरेको छ। संयोगले त्यही यात्रामा निस्किएको अर्को टोली धुन्चेमा रोकिएर सुरक्षित रहेको खबर आउँदा केही परिवारले राहतको सास फेरे। तर त्यस्तो खबर सबै घरमा पुग्न सकेको छैन।

भोटेकोशीको पानी घट्दै जाँदा बढिरहेको छ प्रतीक्षा बाढीको पानी विस्तारै घट्दै जाँदा पनि धेरै परिवारको मनमा उठेको भेल घटेको छैन।

रसुवाको उत्तरगया गाउँपालिकाका कम्प्युटर इञ्जिनियर जनक आचार्य बाढीको पूर्वसूचना माइकिङ गर्दै गर्दा बेपत्ता भए। साँझ उनको शव भेटियो।

कसैको खोजी गर्दा शव भेटिन्छ।
कसैको खोजी गर्दा मान्छे भेटिन्छ।
तर धेरै परिवार अझै पनि दुवैको प्रतीक्षामा छन्।

भोटेकोशीको भेलले बगाएर ल्याएका शव खोज्न नेपाली सेनाले रसुवादेखि चितवनसम्म थप जनशक्ति परिचालन गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि ठूलो संख्यामा खोजी तथा उद्धारमा खटिएका छन्।

हालसम्म हजारौँको उद्धार भएको छ। सयौँ शव सङ्कलन भएका छन्।

तर तथ्याङ्कका प्रत्येक अंक पछाडि एउटा परिवार छ।

एउटा आमा।
एउटा बाबु।
एउटी श्रीमती।
एउटा श्रीमान्।
छोराछोरी।
दाजुभाइ।
दिदीबहिनी।

र सबैको मनमा एउटै अधुरो वाक्य—

‘उहाँ कहाँ हुनुहुन्छ ?’

समय फेरि सामान्य होलारु

सहरमा गाडीहरू फेरि चल्नेछन्।
सडकमा मानिसहरू फेरि हिँड्नेछन्।
बजार खुल्नेछ।
घरमा चुलो बल्नेछ।
मोबाइलमा फेरि सामान्य फोनहरू आउनेछन्।

समय आफ्नै गतिमा अघि बढ्नेछ।

तर केही घरमा समय त्यही भदौ ९ गते बिहान अड्किएको छ।

त्यही अन्तिम फोनमा।
त्यही अन्तिम आवाजमा।
त्यही अन्तिम तस्बिरमा।
त्यही यात्राको बिदाइमा।

हिजोसम्म भविष्यका योजना बनाइरहेका मानिसहरू आज आफ्ना मान्छेको एउटा खबरको प्रतीक्षामा छन्।

कसैलाई तीर्थयात्राबाट फर्किएर प्रसाद ल्याउने सपना थियो।
कसैलाई व्यापारबाट फर्किएर परिवारसँग बस्ने।
कसैलाई घर पुगेर छोराछोरीसँग कुरा गर्ने।

सपना त सबैका थिए।

तर एउटा बिहान आयो, जसले ती सपनालाई भोटेकोशीको भेलसँगै अज्ञात दिशातिर बगाइदियो।

अहिले परिवारहरू हार मान्न तयार छैनन्।

किनकि जबसम्म खबर आएको छैन, आशा बाँकी हुन्छ।

त्यसैले विदुरमा आफन्तहरू अझै लाइनमा छन्। सुरक्षा निकाय खोजीमा छन्। नदी किनारमा सैनिकका पाइला रोकिएका छैनन्।

र सयौँ घरका ढोकाहरू अझै खुला छन्।

सायद कुनै क्षण मोबाइल बज्नेछ।

उताबाट परिचित आवाज आउनेछ ।

‘हामी ठीक छौँ।’ त्यो एउटा वाक्यका लागि अहिले धेरै परिवारको संसार रोकिएको छ।

भोटेकोशीको पानीले धेरै कुरा बगायो। तर आफ्ना मान्छे फर्कने आशामा बसेका आँखाबाट बगिरहेको आँसुको भेल अझै रोकिएको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit