Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

बाढी प्रभावित क्षेत्र पुग्दा बेलायती व्यवसायी कटुवालले जे देखे…

बाढी प्रभावित क्षेत्र पुग्दा बेलायती व्यवसायी कटुवालले जे देखे…
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

बाढीपीडितको पीडाले भावुक बनेका कटुवालद्वारा पुनर्निर्माणका लागि थप सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता

काठमाडौं । बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका तथा सामाजिक अभियन्ता सुजन कटुवाल एमबीईले नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षति प्रत्यक्ष अवलोकन गर्दा आफू गहिरो रूपमा स्तब्ध भएको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेर ध्वस्त भएका भवन, बगेका घर, सडक तथा पुलको अवस्था देख्दा आफूले कल्पना गरेभन्दा निकै ठूलो विनाश भएको उनको भनाइ छ।

पानस हेल्पिङ ह्यान्ड्सका संस्थापकसमेत रहेका कटुवालले प्रभावित क्षेत्रमा पुगेर विपद्मा आफन्त गुमाएका परिवारसँग भेटघाट गरेका थिए। परिवारका सदस्य गुमाएका पति, पत्नी, आमाबुबा, छोराछोरी तथा दाजुभाइ–दिदीबहिनीको पीडा प्रत्यक्ष देख्दा आफू भावुक बनेको उनले बताएका छन्।

‘होरर फिल्म’ जस्तो अनुभूति

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि कटुवालले आफूले पहिले तस्बिर र समाचारमार्फत क्षतिको जानकारी पाए पनि प्रत्यक्ष अवलोकन गर्दाको अनुभव पूर्ण रूपमा फरक रहेको बताए। ध्वस्त भएका संरचना र बाढीले बगाएका सडक तथा पुलको अवस्थाले विपद्को गम्भीरता थप स्पष्ट पारेको उनको भनाइ छ।

 

‘भवनहरू पूर्ण रूपमा ध्वस्त भएका र घरहरू बगेका देख्दा मेरो मन रोयो। यो मैले कल्पना गरेभन्दा धेरै विनाशकारी रहेछ,’ कटुवालले भनेका छन्।

उनले तत्कालीन राहतपछि अब प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्। बेलायत फर्किएपछि पुनर्निर्माणका लागि थप सहयोग अभियान सञ्चालन गर्ने र भविष्यमा यस्ता विनाशकारी विपद्बाट हुने क्षति न्यूनीकरणका उपाय खोज्न पहल गर्ने उनको योजना छ।

५१ हजार पाउन्ड राहत संकलन

नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपछि कटुवालको नेतृत्वमा पानस हेल्पिङ ह्यान्ड्सले आपत्कालीन सहयोग अभियान सञ्चालन गरेको थियो। उक्त अभियानबाट केही दिनमै ५१ हजार पाउन्ड संकलन भएको थियो।

कटुवालले संकलित रकम नेपालका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए। त्यसपछि उनले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँगै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्।

बेलायती राजदूतसँग बाढीको प्रभावबारे छलफल

नेपाल भ्रमणका क्रममा कटुवालले काठमाडौंस्थित बेलायती दूतावासका राजदूत रोब फेनसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपालमा गएको बाढीबाट भएको क्षति तथा बेलायतमा रहेका समुदायहरूले नेपालका बाढीपीडितका लागि देखाएको सहयोग र ऐक्यबद्धताबारे छलफल भएको थियो।

राजदूत फेनले बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै नेपालका नागरिकप्रति बेलायतमा रहेका समुदायहरूले देखाएको उदारता र सहयोग भावनाको स्वागत गरेका थिए। बेलायतमा रहेका नेपाली तथा गुरखा समुदायसहित विभिन्न व्यक्तिहरूले राहत अभियानमा देखाएको सक्रियताले विपद्का समयमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र ऐक्यबद्धतालाई थप बलियो बनाएको कटुवालले बताएका छन्।

पुनर्निर्माणमा दीर्घकालीन सहयोगको योजना

कटुवालले तत्कालीन आपत्कालीन राहतसँगै बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन्। अभियानका प्रमुख दाता डा। पेट्र फिर्टको सहयोगप्रति आभार व्यक्त गर्दै उनले मानवीय संवेदनालाई व्यवहारिक सहयोगमा परिणत गर्न दाताहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

‘पेट्रले हामीले गर्न खोजेको काममा विश्वास गर्नुभएको र नेपालका जनतासँग उभिनुभएकोमा म अत्यन्तै आभारी छु। उनकाे उदारताले हाम्रो सहानुभूतिलाई सहयोगमा परिणत गर्न मद्दत गरेको छ,’ कटुवालले भने।

डा। फिर्ट आगामी मार्च २०२७ मा कटुवालसँगै नेपाल आउने र प्रभावित समुदायको अवस्था अवलोकन गर्दै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणमा योगदान गर्न सकिने क्षेत्र पहिचान गर्ने योजना रहेको बताइएको छ।

सामाजिक सेवामा सक्रिय पानस हेल्पिङ ह्यान्ड्स

पानस हेल्पिङ ह्यान्ड्सले नेपालमा बाढी राहत अभियान सञ्चालन गर्नुका साथै बेलायतमा लामो समयदेखि सामाजिक सेवाका गतिविधि गर्दै आएको छ। कोभिड–१९ महामारीका क्रममा संस्थाले बेलायतका स्वास्थ्यकर्मी, गुरखा पूर्वसैनिक, घरबारविहीन तथा आवश्यकतामा रहेका अन्य समुदायका लागि २ लाख ५० हजारभन्दा बढी निःशुल्क खाना वितरण गरेको थियो। संस्थाले लन्डनमा घरबारविहीन व्यक्तिहरूका लागि साप्ताहिक सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

कटुवालको सामाजिक अभियान नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध तथा गुरखा समुदायको योगदानलाई प्रवर्द्धन गर्ने कार्यसँग पनि जोडिएको छ। आगामी नोभेम्बरमा पानसले लर्ड मेयर शो २०२६ मा नेपालका सांस्कृतिक पक्ष तथा २०० वर्षभन्दा लामो गुरखा सम्पदालाई प्रस्तुत गर्न सहयोग गर्ने योजना बनाएको छ। उक्त कार्यक्रममा ब्रिगेड अफ गुरखाजको ब्यान्ड तथा समुदायका साझेदारहरूको सहभागिता रहने बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit