काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि आज सकुशल उद्धार गरिएको छ। उद्धार कार्यका क्रममा गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै खटिएर उद्धार तथा समन्वयमा सक्रिय भएका छन्।
शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट आयोजनामा कार्यरत सप्तरीका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो । सुरुङबाट बाहिर निकालिएका दुवै जनालाई स्ट्रेचरमा राखेर अक्सिजन दिइएको थियो । त्यसक्रममा गृहमन्त्री गुरुङले समेत अक्सिजन सिलिन्डर बोकेर उद्धार टोलीसँगै देखिएका छन्।
उद्धार गरिएका दुवै जनालाई आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी गरिएको छ । सुरुङभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने विवरणपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। गृहमन्त्री गुरुङ घटनास्थलमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने, सुरक्षा निकायबीच समन्वय गर्ने तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिने काममा सक्रिय रहेको बताइएको छ।
यद्यपि, गृहमन्त्रीको कार्यशैलीलाई लिएर आलोचनासमेत भइरहेको छ । कतिपयले गृहमन्त्रीको मुख्य भूमिका व्यवस्थापन र समन्वयमा केन्द्रित हुनुपर्ने भन्दै उद्धारस्थलमै प्रत्यक्ष रूपमा खटिनुलाई ‘स्टन्ट’ र सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने प्रयासका रूपमा टिप्पणी गरिरहेका छन्। आलोचकहरूले उद्धार कार्यलाई प्रभावकारी बनाउन फिल्डमा देखिनुभन्दा आवश्यक स्रोत–साधन परिचालन, सुरक्षा निकायबीच समन्वय र समग्र उद्धार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् ।
तर, उनका समर्थकहरूले भने विपद्को समयमा नेतृत्वकर्ता स्वयं घटनास्थलमा उपस्थित भएर उद्धार टोलीको मनोबल बढाउनु र आवश्यक निर्णय तत्काल लिनु सकारात्मक भएको बताएका छन्। उद्यपी, गृहमन्त्री भने त्रिशूली–३ ‘ए’को आयोजना स्थलमै खटिएका छन् ।















प्रतिक्रिया दिनुहोस्