काठमाडौं । पूर्वमन्त्री तथा उद्योगी मोतिलाल दुगडले ग्यास आपूर्तिको समस्या समाधानसँगै अन्य अत्यावश्यक वस्तुको आपूर्ति र मूल्यवृद्धितर्फ पनि सरकारको ध्यान जानुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको आपूर्ति अवस्था तथा मूल्यवृद्धिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै दुगडले ग्यासमा मात्रै केन्द्रित हुँदा चामल, दाल, तेल, चिनी, मसला लगायतका अत्यावश्यक खाद्य वस्तुको आपूर्ति तथा मूल्यवृद्धिको समस्या ओझेलमा पर्न सक्ने बताए। उनले सम्भावित आपूर्ति संकट आउनुअघि नै सरकारले आवश्यक तयारी र वैकल्पिक योजना बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार वस्तुको अभाव हुनुअघि नै नकारात्मक प्रचार हुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी सामान सञ्चय गर्ने र त्यसले कृत्रिम अभाव, ओभरस्टकिङ तथा कालोबजारीलाई बढावा दिन सक्छ।
ग्यासको मूल्यवृद्धि मुख्यतः ढुवानी समस्यासँग सम्बन्धित रहेको उल्लेख गर्दै दुगडले अहिलेको अवस्थालाई ठूलो संकटका रूपमा लिन नहुने बताए। सडक अवरुद्ध भए वैकल्पिक मार्ग, हेलिकप्टर वा एयर कार्गोमार्फत समेत आपूर्ति गर्न सकिने उनको भनाइ छ। ‘ग्यासमा समस्या छ, तर अहिले देखिएको मूल्यवृद्धिका केही बिन्दुलाई लिएर धेरै आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले वैकल्पिक ढुवानीको व्यवस्था गर्न सके केही दिनमै यो समस्या समाधान हुन सक्छ।’
दुगडले कोरोना महामारीका बेला पनि अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गरिएको स्मरण गर्दै संकटको समयमा सरकारले पूर्वतयारी र स्पष्ट योजनाका साथ काम गर्नुपर्ने बताए। उनका अनुसार अहिलेको प्रमुख चुनौती माग र आपूर्तिबीचको सन्तुलन तथा पर्याप्त तथ्यांकको अभाव हो। कुन क्षेत्रमा कति वस्तुको माग हुन्छ र कति आपूर्ति आवश्यक पर्छ भन्ने विषयमा सरकारसँग सही तथ्यांक हुनुपर्ने उनले बताए।
विशेषगरी दुर्गम क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन जनसंख्या, बजारको घनत्व र भौगोलिक अवस्थाका आधारमा छुट्टै योजना आवश्यक रहेको उनले बताए। ‘ग्यास संवेदनशील वस्तु हो, ग्यास नहुँदा घरमा खाना पकाउन समस्या हुन्छ। त्यसैले यसको आपूर्तिमा सरकारको ध्यान जानुपर्छ,’ दुगडले भने, ‘तर ग्यासमा मात्रै फोकस गर्दा घरमा नभई नहुने अन्य खाद्य वस्तुको आपूर्ति र मूल्यवृद्धि ओझेलमा पर्नु हुँदैन।’
उनले सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। सम्भावित अभाव र मूल्यवृद्धिको वास्तविक कारण समयमै पहिचान गरी समाधान गर्न सके कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सकिने उनको भनाइ छ। ‘आज ग्यासको विषयमा छलफल भए पनि यसको फाइदा अन्य अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउनतर्फ पनि जानुपर्छ,’ उनले भने, ‘आपूर्ति पर्याप्त भए पनि मूल्य किन बढिरहेको छ भन्ने वास्तविक कारण पहिचान गरेर सरकारले त्यसअनुसार कदम चाल्नुपर्छ।’















प्रतिक्रिया दिनुहोस्