काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, जलवायुजन्य जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको छ ।
मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, पूर्वसूचना प्रणाली तथा जलवायुजन्य जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन। भेटमा भोटेकोशी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति, प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, खाद्य सुरक्षा, जलवायु न्याय, पर्वतीय एजेन्डा तथा पूर्वसूचना प्रणाली सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो ।
मन्त्री चौधरीले नेपालले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको वर्तमान अवस्था तथा संयुक्त राष्ट्रसंघबाट हुन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल गरिन ।उनले आगामी संयुक्त राष्ट्रसंघ महासभा तथा कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा र जलवायु न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसंघको सहयोग आवश्यक रहेको बताइन् । साथै, खाद्य सुरक्षा क्लस्टरलाई थप प्रभावकारी बनाउन खाद्य तथा कृषि संगठन (एफएओ) लगायत संयुक्त राष्ट्रसंघीय निकायसँग दीर्घकालीन सहकार्य आवश्यक रहेको बताउँदै विपद्पछिको पुनरुत्थानका लागि थप सहयोगको अपेक्षा व्यक्त गरिन ।
भेटवार्तामा हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय र उत्थानशील विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।















प्रतिक्रिया दिनुहोस्