काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न सुरक्षण कोषमा रहेको ७१ करोड रुपैयाँ वाणिज्य बैंकमा निक्षेपका रूपमा लगानी गर्ने भएको छ। यसका लागि कोषले ‘क’ वर्गका वाणिज्य बैंकबाट ब्याजदर र लिन चाहेको रकमसहितको प्रस्ताव मागेको छ।
कोषले बिहीबार सूचना निकालेर ६ महिनाका लागि बैंकमा लगानी गर्ने जनाएको हो। इच्छुक बैंकले शिलबन्दी दरभाउपत्रमार्फत आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्रस्ताव पेस गर्ने अन्तिम मिति २०८३ असोज २८ गते तोकिएको छ।कोषका अनुसार कुल रकममध्ये स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषको ३० करोड रुपैयाँ, ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योगदान कोषको ११ करोड रुपैयाँ र कोशी प्रदेश सुरक्षण योगदान कोषको ३० करोड रुपैयाँ बैंकमा निक्षेपका रूपमा राखिनेछ।
तर, रकम लिन बैंकले निश्चित वित्तीय मापदण्ड पूरा गर्नुपर्नेछ। बैंक पछिल्ला लगातार पाँच आर्थिक वर्ष नाफामा रहेको, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको तथा निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ। त्यसैगरी बैंकको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत हुनुपर्ने र कर्जा तथा निक्षेपसम्बन्धी अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेछ। नियामकीय कारबाहीमा परेका बैंकका लागि पनि कोषले निश्चित योग्यता तोकेको छ।
सरकारी स्वामित्वबाहेकका बैंकको हकमा सर्वसाधारणका लागि शेयर जारी गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हुनुपर्ने व्यवस्था पनि छ।















प्रतिक्रिया दिनुहोस्