काठमाडौं । व्यवसायी दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै उनका बाबु चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
चतुर्भुजले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै छोरालाई निष्पक्ष न्याय पाउने अधिकार सुनिश्चित गर्न तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।
निवेदनमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको दाबी गरिएको छ। विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने समाचारप्रति उनले आपत्ति जनाएका छन् ।
त्यस्तै, असोज १७ गते दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा समेत उनले प्रश्न उठाएका छन्। सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे जानकारी नदिइएको भन्दै उनले सम्बन्धित निकायबाट आवश्यक विवरण उपलब्ध गराउन माग गरेका छन् ।
चतुर्भुजले कारागार सरुवासम्बन्धी निर्णय र कागजात अध्ययन गर्न, आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न तथा छोराको मानव अधिकार र मौलिक हक संरक्षणका लागि पहल गर्न आयोगसँग आग्रह गरेका छन् । उनले आफ्नो उद्देश्य अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध पुर्याउनु नभई निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान र मानव अधिकारको संरक्षण गर्नु रहेको बताएका छन्।
















प्रतिक्रिया दिनुहोस्