काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमाल नजिक पहिरो खस्दा उइनगुर्लुङ खोला थुनिएर बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ।
आइतबार बिहान आएको बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले घर, गोठ, सामुदायिक भवन, झोलुङ्गे पुल तथा पक्की पुलमा क्षति पुर्याएको छ। केही बस्तीमा घर बगाएको, पुरिएको र घरभित्र बाढी पसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। कतिपय बस्तीका घर अझै जोखिममा रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण पाँचजना सम्पर्कविहीन हुँदा ६ ओटा पुलमा क्षति पुगेको छ । यारुबगर, दोभान र सल्लेरी क्षेत्रका जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्। चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका घरहरू बगाएको जनाइएको छ। बाढीमा फसेका २७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका १८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने चुमनुब्री गाउँपालिका–३ न्याकफेदीबाट नौ जनालाई न्याकगाउँमा उद्धार गरिएको विवरणमा उल्लेख छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट भएको क्षतिको विवरण यस प्रकार छ :
घर, गोठ तथा अन्य संरचनामा क्षति
चुमनुब्री गाउँपालिका–३, सिर्दिबास : स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको छ।
धार्चे गाउँपालिका–५, माछीखोला : तल्लो बस्तीमा बाढी पसेर ५–७ वटा घर तथा त्यति नै सङ्ख्यामा टहरामा क्षति पुगेको छ। प्रारम्भिक विवरणमा करिब १० वटा घरमा बाढी पसेको, किराना सामान राख्ने चारवटा भण्डारण भवन र करिब १०–१२ वटा बङ्गुरका खोर पुरिएको उल्लेख छ।
चुमनुब्री गाउँपालिका–३, सल्लेरी: करिब २०–२२ वटा घर जोखिममा परेका छन्। निर्माणाधीन जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका ७–८ वटा घर बगाएको विवरण छ।
आरुघाट गाउँपालिका–३, सोती : करिब १४–१५ वटा घरमा बाढी पसेको छ।
चुमनुब्री गाउँपालिका–६, उइनगुर्लुङ : सिरिङ्गे हिमालबाट खसेको हिमपहिरोका कारण करिब ३–४ वटा गोठ बगाएको प्रारम्भिक जानकारी छ।
चुमनुब्री गाउँपालिका–३, घट्टेखोला : बहादुर गुरुङको एउटा घरमा बाढी पसेको छ।
घट्टेखोला सपना गुरुङको एउटा कच्ची घर बगाएको छ।
घट्टेखोला : भैवा गुरुङका दुईवटा कच्ची घर बगाएको छ।
घट्टेखोल : विकास गुरुङको पाँचकोठे भवन बगाएको छ।
घट्टेखोला: दूधपोखरी आमा समूहको तीनकोठे भवन बगाएको छ।
चुमनुब्री गाउँपालिका–३, पैयुँ : करिब ६–७ वटा घर पुरिएको प्रारम्भिक विवरण छ।
चुमनुब्री गाउँपालिका–३, बगर: करिब ५–६ वटा घर पुरिएको जानकारी प्राप्त भएको छ।
धार्चे गाउँपालिका–१, यारुबगर: करिब १०–१२ वटा घरमा क्षति पुगेको छ।
धार्चे गाउँपालिका–१, दोभान: करिब ५–६ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ।चुमनुब्री गाउँपालिका–६, उङ्गिलुङ : भेडीगोठमा रहेका दुई पुरुष र तीन महिलासहित पाँच जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
झोलुङ्गे पुल तथा पक्की पुलमा क्षति
न्याकचेत–सिर्दिबास: चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ।
माछीखोला–केरौजा: धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।
सोती: आरुघाट गाउँपालिका–२ र ३ जोड्ने फलामे मोटरेबल पक्की पुल बगाएको छ।
आरुघाट–धादिङ: आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त मार्गको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जलविद्युत् आयोजनामा क्षति
धार्चे गाउँपालिका–१, यारुबगरस्थित जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
धार्चे गाउँपालिका–१, दोभान: यहाँ रहेको जलविद्युत् आयोजनामा पनि क्षति पुगेको बताइएको छ।
चुमनुब्री गाउँपालिका–३, सल्लेरी: निर्माणाधीन ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका ७–८ वटा घर बगाएको प्राधिकरणको विवरणमा उल्लेख छ।
उद्धार तथा मानवीय क्षति
धार्चे गाउँपालिका–१, यारुबगर: जलविद्युत् आयोजनामा काम गर्ने कामदार तथा स्थानीय गरी १८ जना नेपाली नागरिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ।
चुमनुब्री गाउँपालिका–३, न्याकफेदी नौ जना नेपाली नागरिकलाई न्याकगाउँमा सुरक्षित स्थानमा सारिएको छ।
सम्पर्कविहीन: उङ्गिलुङमा भेडीगोठमा रहेका दुई पुरुष र तीन महिलासहित पाँच जना सम्पर्कविहीन भएका छन्।
कुल उद्धार: पछिल्लो विवरणअनुसार बाढीमा फसेका ४७ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको छ।
अन्य भौतिक क्षति तथा राहत
बाढीले दुईवटा टेलिफोन टावर र करिब ५० वटा बिजुलीका पोलमा क्षति पुर्याएको प्राधिकरणले जनाएको छ। पुल बगाएपछि केही स्थानको सडक सम्पर्क विच्छेद भएको छ। अवरुद्ध यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था तथा बेलीब्रिज जडानको तयारी भइरहेको जनाइएको छ।गृहमन्त्री सुधन गुरुङका अनुसार बाढी प्रभावितका लागि पहिलो चरणमा तीन ट्रक राहत सामग्री पठाइएको छ। आरुघाटबाट गोरखासम्म निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ















प्रतिक्रिया दिनुहोस्