Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

१०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार विकासमा ६ अर्ब ५४ करोड लगानी गर्दै मन्त्रालय

१०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार विकासमा ६ अर्ब ५४ करोड लगानी गर्दै मन्त्रालय
विज्ञापन
Advertisement

काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थी तथा अभिभावकको आकर्षण थप बढाउने लक्ष्यसहित सरकारले ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयमा पूर्वाधार विकासको काम अघि बढाउन लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयहरूको भौतिक संरचना निर्माण तथा सुदृढीकरणका लागि सरकारले कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यालयको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले यो योजना अघि सारिएको उनले बताएका छन्।

योजनाको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको मन्त्री पोखरेलले जानकारी दिएका छन्। उक्त बजेटबाट विद्यालयहरूमा १२ कोठा भएका तीनतले आधुनिक भवन निर्माण गरिनेछ। प्रतिविद्यालय करिब छ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनमा सुविधासम्पन्न कक्षाकोठा, व्यवस्थित प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था गरिने जनाइएको छ। नयाँ पूर्वाधारले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने सरकारको अपेक्षा छ। पर्याप्त भौतिक सुविधा र सिकाइका लागि आवश्यक संरचना निर्माण भएपछि विद्यालयको शैक्षिक गतिविधि थप प्रभावकारी बन्ने विश्वास पनि गरिएको छ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्यामा देखिएको असमानताप्रति सरकार गम्भीर रहेको बताएका छन्। उनका अनुसार केही विद्यालयमा विद्यार्थीको चाप अत्यधिक छ भने कतिपय विद्यालय विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले पहिलो चरणमा बढी विद्यार्थी भएका ठूला विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिएको हो। ‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ,’ मन्त्री पोखरेलले भने, ‘विद्यालयहरूबीचको यो असमानता हटाउन हामीले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ।’

उनले आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सामुदायिक शिक्षाको सुधारका लागि पूर्वाधार विकाससँगै शिक्षक, अभिभावक र विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले देशको भविष्य निर्माणमा योगदान पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिएका छन्। सामुदायिक विद्यालयको स्वरूप परिवर्तन गरी गुणस्तरीय शिक्षाको भरपर्दो केन्द्रका रूपमा विकास गर्न उनले सबैसँग सहकार्य र हातेमालोको आह्वानसमेत गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit