काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।
यो मूल्य गत आर्थिक वर्षको तुलनामा प्रतिक्विन्टल १६२ रुपैयाँले बढी हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारणसम्बन्धी निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गहुँको न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ का आधारमा नयाँ मूल्य तोकिएको जानकारी दिए।
सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ निर्धारण गरेको थियो। यस वर्ष उक्त मूल्य बढाएर ४ हजार १०७ रुपैयाँ पुर्याइएको हो। नयाँ व्यवस्थाअनुसार गहुँको समर्थन मूल्य गत वर्षको तुलनामा करिब ४.१ प्रतिशतले बढेको छ। यसबाट गहुँ उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। न्यूनतम समर्थन मूल्य कृषि उत्पादनको मूल्यमा अत्यधिक गिरावट आउँदा किसानलाई संरक्षण गर्ने उद्देश्यले निर्धारण गरिने मूल्य हो।















प्रतिक्रिया दिनुहोस्