Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नाचिन छाडे धाननाच

नाचिन छाडे धाननाच
विज्ञापन
Advertisement

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए ।

उनका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताए । उनका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ ।

धान नाच्दा पालाम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ । धाननाचमा पालाम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालाममा सृष्टि उत्पत्तिको प्रसङ्ग,  मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायापिरतीसम्मका कुरा गरिन्छ ।

पालामी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भने ,यो, “याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।”

याक्थुङ (लिम्बू) जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो । मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले । तर, उनीहरुले फलाएको अन्न दिनदिनै हुलकाहुल चरा आएर खाइदिन थाले । चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे । उनीहरूले पाकेको अन्नलाई खला बनाई एकैठाउँ जम्मा गरे । युवायुवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा ।। हा ।।’ भन्दै धान कुल्चन थाले । यहीँ यारुलाक् (धान कुल्चनु) नै पछि यारुलाङ् (धाननाच) भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा ।। हा ।।’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ । अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालाम गाउँदा ‘छुई हा ।। हा ।।’ वा ‘हाई हा ।। हा ।।’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताए।

याक्थुङ (लिम्बू) जातिको चिनारी र पहिचान बोकेको यहीँ धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउनुहुन्छ । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिँदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्न उनको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit