
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) देखि दुईदिने ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागेको छ। शैक्षिक मेला भोलि शुक्रबार र शनिबार दुई दिन प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा आयोजना हुनेछ।
काठमाडौं महानगरपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि काठमाडौं महानगरपालिकाका शैक्षिक तथा अतिरिक्त क्रियाकलापको नतिजा
विद्यार्थीहरूको प्रस्तुति र प्रदर्शनीका लागि एकेडेमिक फेस्ट २०८१’ अन्तर्गत यो मेला सञ्चालन गर्न लागेको जनाएको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको छ। महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिने जनाएको छ ।
महानगर प्रवक्ता मानन्धरले भने,‘ शैक्षिक मेलाले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ।’ मानन्धरका अनुसार महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको विम्ब मेलामा समेटिनेछन्। मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नेछ। प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन्। प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन्।
बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रूचि र नतिजा प्रदर्शन गर्नेछन्। ‘शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रूपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रूपैयाँमा नै उपलब्ध गराइनेछ, यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ,’उनले भने।
यस्तै, उनले विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरूहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी हुने जानकारी दिए। उनले भने, ‘विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान हुनेछ । महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुन्।’
उनका अनुसार कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो। दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ। तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तरक्रिया आयोजना गरिनेछ।
यस्तै, कक्षा १० का विद्यार्थीको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै गरेकाले उनीहरूलाई मेलामा अनिवार्य नगराइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन्। उक्त शैक्षिक मेलामा भने करिब ५० हजार विद्यार्थीहरूले अवलोकन गर्ने अनुमान महानगरपालिकाले गरेको छ।
महानगरपालिकाले यो मेलाबाट व्यावहारिक र उत्तरदायी नागरिक उत्पादनमा योगदान पुग्ने अपेक्षा लिएको छ। महानगरपालिकाका प्रवक्ता मानन्धरले भने,‘यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ।’
प्रतिक्रिया दिनुहोस्