काठमाडौं । गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक भएको छ। मुलुकमा बढ्दो बेरोजगारी, अवसरको अभाव र वैदेशिक रोजगारीका लागि घरपरिवार छोड्न बाध्य नेपाली युवाहरूको पीडालाई केन्द्रमा राखेर तयार गरिएको गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्।
सुनारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले एयरपोर्टमा परिवारसँग बिछोडिँदाको भावुक क्षणदेखि परदेशमा संघर्षरत नेपालीहरूको जीवनकथा प्रस्तुत गरेको छ। गीतले वैदेशिक रोजगारीको बाध्यता, भविष्यको खोजी र आफ्नै देशमा अवसर नपाउँदाको पीडालाई समेटेको छ। गीतका शब्द तथा लय भुवन बिकेका हुन्। भिडियो निर्देशन मोडल तथा निर्देशक गोविन्द विवशले गरेका छन् भने छायाङ्कन सौगात थापा र सम्पादन असिम चन्द्र विश्वकर्माले गरेका छन्। गीतको अडियो निर्माण प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो।
भिडियोमा गीतकार भुवन बिके र अनिता नेपाल मुख्य भूमिकामा देखिएका छन्। गीतको प्रस्तुति तथा निर्माण मनिषा सदाशङ्करले गरेकी हुन्। सार्वजनिक भएपछि गीतले स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
सुनार संगीतसँगै पत्रकारिता क्षेत्रमा पनि परिचित नाम हुन्। करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका उनले विभिन्न अनलाइन समाचार माध्यम र टेलिभिजनमा काम गरिसकेका छन्। हाल उनी नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिका सचिवसमेत रहेका छन्। हाल जापानमा रहेर पत्रकारिता र सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका सुनारले यसअघि ‘लेकाली ठिटो’, ‘निगाली झाँपो’, ‘भने जस्तो होस्’ र ‘परदेशीको पीडा’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्।
नेपाली समाज, लोकसंस्कृति, श्रम, संघर्ष र जनजीवनका कथालाई गीतमार्फत प्रस्तुत गर्दै आएका सुनारको नयाँ गीत ‘देशै छोडेर’ ले पनि परदेशिन बाध्य नेपाली युवाहरूको यथार्थ र भावनालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्