Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सडक मानवका लागि झन्डै ११ करोड खर्चेर ‘हाम्रो माया घर’ निर्माण गरिँदै

सडक मानवका लागि झन्डै ११ करोड खर्चेर ‘हाम्रो माया घर’ निर्माण गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकामा निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ । मधेश प्रदेशका सडक मानव, बेसहारा, अशक्त र असहायलाई सहारा दिने उद्देश्यले बर्दिबास–२ मा सुरु भएको ‘हाम्रो माया घर’ अहिले तीव्र गतिमा निर्माण अगाडि बढेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

विज्ञापन
Advertisement
Advertisement

परोपकारी भावना बोकेका स्थानीय १५ जना दाताले करिब डेढ करोड मूल्य बराबरको साढे पाँच कट्ठा जग्गादान दिएपछि बर्दिबासमा सडक मानवका लागि भवन निर्माण प्रक्रिया सुरु भएको उनले उल्लेख गरे । उनका अनुसार १० करोड ६९ लाख लागतमा भवन निर्माण भइरहेको छ ।

भागवत मञ्जरी ‘राधिका दासी’को प्रेरणाले बर्दिबासमा गत साउन २१ देखि २९ गतेसम्म आयोजित शिवपुराण महायज्ञमा दानबाट दुई करोड ४० हजार १८६ रुपैयाँ सङ्कलन भएपछि काम सुरु भएको माया घर निर्माण समितिका सचिव चेतकुमार थापाले जानकारी दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत साउन ३० गते शिलान्यास गरेका ‘हाम्रो माया घर’ को निर्माण आर्थिक अभावमा ढिलाइ भएकामा अहिले सहयोग सङ्कलन हुन थालेपछि कामलाई तीव्रता दिइएको सचिव थापाले बताए । मधेश प्रदेशमा पहिलो पटक सडक मानवको सहायताका लागि निर्माण भइरहेको भवन सबैका लागि प्रेरक, अनुकरणीय र मानव कल्याणको हितमा उदाहरणीय कार्य भएको उनको भनाइ छ ।

मानसिक सन्तुलन गुमाएर सडक बाटोमा भौँतारिने, मागेर खाने महिला तथा पुरुष, असहाय सडक बालबालिका, हिंसापीडित वृद्धवृद्धा, मानसिक रुग्णता भएका र परिचय गुमाएकालाई नयाँ नाम, पहिचान र मायाको ओत दिने उद्देश्यले ‘हाम्रो माया घर’ निर्माण थालिएको बताउँदै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालनमा ल्याइने समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा भवन निर्माण गर्न १० करोड ६९ लाख ४५ हजार ४७७ लाग्ने उल्लेख छ । प्रतिवेदनअनुसार बालबालिका र अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक दुईवटा भवन बन्नेछन् ।

खानेपानी, बिजुलीबत्ती र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुईतले र अर्को चारतलेमा गरी १२ कोठाका हुनेछन् । यसमा आवास, भोजनालय, सभा कक्ष, अध्ययन कक्ष, मन्दिरलगायत संरचना रहनेछन् ।

करिब २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र शिक्षा, पूजाआजा र ध्यान तथा आराधनाका लागि मन्दिरको समेत प्रबन्ध गरिने समितिका अध्यक्ष भट्टराईले बताउनुभयो । उनका अनुसार निर्माणाधीन भवन ५ वर्षभित्र सञ्चालनमा आइसक्ने छ ।

समितिले भवन तयार भएर सञ्चालन हुनअघि पनि अनाथ बालबालिका र सडक मानवलाई उद्धार गरेर अभिभावकत्व लिने भन्दै इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने समितिका अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच, मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी हाम्रो मायाको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थलगत निरीक्षणका लागि भवन निर्माणस्थल पुगेका प्रदेशका अर्थमन्त्री सुमनकुमारले आगामी आर्थिक वर्षमा भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । भौतिक योजना तथा निर्माणमन्त्री सरोजकुमार यादवले मन्त्रालयले ३० लाख सहयोग गर्ने जानकारी दिए । यस घर निर्माण तथा सञ्चालन गर्न निर्माण समिति तथा बर्दिबास नगरपालिकाले सम्पूर्ण शुभेच्छुक व्यक्ति, विभिन्न सङ्घसंस्था, स्थानीयलगायतसँग सहयोगका लागि आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit